Skip to main content

तीन नेताको घरमा खानतलासी, पक्राउ पुर्जी भने केवल देउवामाथि जारी

१४ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले समान परिस्थितिमा रहेका तीन दलका प्रमुख नेतामध्ये आफूलाई मात्रै पक्राउ र धरपकडको प्रयासबाट भेदभाव गरिएको दाबी गरेका छन्। जिल्ला अदालत काठमाडौंबाट आफू र पत्नी डा. आरजु देउवा राणाविरुद्ध पक्राउ अनुमति पुर्जी जारी भएको थाहा पाएपछि देउवा दम्पती सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्च अदालतमा पेश गरेको निवेदनमा देउवाले उल्लेख गरेका छन् कि उस्तै प्रकृतिका घटनामा अरू दुई नेतालाई केही नगरिएको तर आफूलाई मात्र भेदभाव गरिएको छ।

देउवाका अनुसार, सुशीला कार्की नेतृत्वको सरकारले बनेपछि ६ असोज, २०८२ मा भक्तपुरको केपी ओली र ललितपुर खुमलटारस्थित पुष्पकमल दाहालको घरमा खानतलासी गरी मुचुल्का समेत खडा गरिएको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले पेश गरेको प्रारम्भिक प्रतिवेदनमा तीन जनाको नाम उल्लेख नभएको तर आफूलाई मात्र पक्राउ गरिएको भन्दै देउवाले अदालतमा निवेदन दिएका छन्। ‘हाम्रा विरुद्ध पक्राउ पुर्जी माग गरेजस्तो अनुसन्धान अधिकृतले प्रचण्ड वा केपी ओलीविरुद्ध कुनै पक्राउ पुर्जी माग वा जारी गरेको छैन’ देउवा परिवारले सर्वोच्चमा पेश गरेको निवेदनमा भनिएको छ।

खानतलासी गर्दा जलेका फलाम र आल्मुनियमका टुक्रा बाहेक केही भेटिएको थिएन। घरको कम्पाउण्डमा जलेका पाँच वटा गाडी र दुई मोटरसाइकलका अवशेष थिए। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र केपी ओलीको घरमा समेत नगद जलेको विषयमा समिति बनाएर अनुसन्धान गरिएको भए पनि उनीहरू विरुद्ध केही उल्लेख नगरी आफूहरूमाथि मात्र धरपकड गरिन खोजिएको भन्ने देउवा परिवारको भनाइ छ। देउवा दम्पतीले अनुसन्धान प्रक्रियामा प्रश्न उठाएका छन्।

आरजु राना देउवाले जिल्ला अदालतले दिने पक्राउ अनुमति आदेशलाई ‘आँखा चिम्लिएर अनुमति दिने प्रवृत्तिले संविधानप्रदत्त हकमा चोट पुगेको’ दाबी गरेकी छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका केही अधिकृतहरूले देउवा दम्पतीले लुकाएको सम्पत्तिको सूचना संकलन गरिरहेको दाबी गरेका छन्। देउवा परिवारले भने, ‘हामी भाग्ने सम्भावना नभएको, प्रमाण लोप हुने अवस्था नभएको र अनुसन्धानमा बाधा नपरोस भन्ने भन्दै पक्राउ आवश्यक नरहेको बताएका छन्।’