
वैज्ञानिकहरूको मत अनुसार काग अत्यन्त बुद्धिमान चरा हो, जसले मानिसको अनुहार चिन्ने, उपकरण निर्माण गर्ने र जटिल समस्या समाधान गर्ने क्षमता राख्छ। सामान्यतया कागलाई सामान्य, आवाज गर्ने वा फोहोर खाने चराका रूपमा मात्र हेरिन्छ। कतिपयले यसको आवाजलाई अशुभ संकेतका रूपमा पनि लिन्छन्। तर विज्ञानले कागलाई संसारकै सबैभन्दा बुद्धिमान चरामध्ये एक मान्दछ। काग मात्र खाना खोजेर जीवनयापन गर्ने चरा होइन, यसले मानिसको अनुहार सम्झन्छ, रिस उठाउने गर्छ, उपकरण बनाउँछ, समस्या समाधान गर्छ र साथीहरूसँग सूचना आदानप्रदान समेत गर्छ। आफ्ना मृत साथीहरू वरिपरि जम्मा भएर ‘शोक सभा’ जस्ता व्यवहार गर्ने यसको बानीले वैज्ञानिकलाई समेत चकित बनाएको छ।
विज्ञहरूको अनुसार कागको मस्तिष्क क्षमता कतिपय अवस्थामा बाँदर सरह देखिन्छ। नेपालका गाउँदेखि काठमाडौंको भीडभाडसम्म कागले आफूलाई सहजै अनुकूल बनाएको छ। फोहोरको थुप्रो, नदी किनार, खेतबारी, मन्दिर वरपर वा शहरका बिजुलीका तारहरू—जहाँसुकै काग सजिलै देख्न सकिन्छ। वाइल्ड फोटोग्राफर राजेश ढुंगानाका अनुसार काग संसारकै सबैभन्दा ‘अनुकूलनीय’ चरामध्ये एक हो। कागले नयाँ परिस्थिति छिट्टै बुझ्छ र खाना खोज्न नयाँ–नयाँ उपाय अपनाउँछ। जापानमा गरिएको एक अध्ययनमा कागले ओखर सडकमा राखेर गाडी गुड्न पर्खन्छ र ट्राफिक बत्ती रातो हुँदा सजिलै खान्छ।
कागले आफैं उपकरण बनाउँछ, जुन कुरा वैज्ञानिकहरूलाई चकित पार्ने प्रमाणित छ। कागले ढुंगा हालेर पानी माथि ल्याउने क्षमता पनि प्रदर्शन गरेको छ। यसले ‘कारण र परिणाम’ बुझ्न सक्छ। कागको शोक सभा भनेको कुनै काग मरेको अवस्थामा अन्य कागहरूले जम्मा भएर सोधपुछ गर्ने प्रक्रिया हो। कागको सबैभन्दा डरलाग्दो तर रोचक क्षमता भनेको मानिसको अनुहार सम्झने शक्ति हो। अमेरिकामा गरिएको अध्ययनले देखाएको छ कि कागले विशेष मास्क देख्नेबित्तिकै कराउन सुरु गर्छ। यसले देखाउँछ कि काग केवल स्मरण गर्ने मात्रै नभई सामाजिक जानकारी बाँड्ने जीव पनि हो।
नेपालमा कागको विशेष स्थान छ। तिहारको पहिलो दिन ‘काग तिहार’ मनाइन्छ, जहाँ कागलाई पूजा गरी खाना खुवाइन्छ। काठमाडौंजस्तो व्यस्त शहरमा पनि कागले आफूलाई सहजै अनुकूल बनाएको छ। कागले फोहोर सफा गर्छ, मरेका जनावर खान्छ, कीरा नियन्त्रण गर्छ र वातावरण सफा राख्न सहयोग पुर्याउँछ। कागको बुद्धिमत्ता र अनुकूलन क्षमताले यसलाई विशेष बनाउँछ।

