Skip to main content

युक्रेन युद्ध: रुमेनियाको आवासीय भवनमा रुसी ड्रोन आक्रमण

रुमेनियास्थित एउटा आवासीय भवनमा रुसी ड्रोन आक्रमण गरिएको र त्यहाँ आगो लागेको रुमेनियाको रक्षा मन्त्रालयले पुष्टि गरेको छ। सो घटनामा दुई जना घाइते भएका छन्। रूसी ड्रोनले युक्रेन सिमानासँगै पूर्वी सहर गालाट्समा प्रहार गरेको मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख छ। रुमेनियाको आपतकालीन सेवा अनुसार ड्रोनमा रहेका सबै विस्फोटक सामग्री पड्किए र आवासीय भवनको तल्ला दशौं तलमा आगो लागेको छ। युक्रेन युद्धका क्रममा विगत चार वर्षदेखि रुसी ड्रोनहरू बारम्बार रुमेनियामा खसेका छन्। यद्यपि, यसले रुमेनियामा पहिलोपटक क्षति पुर्‍याएको हो। रुमेनिया नेटोको सदस्य राष्ट्र हो।

दुर्घटनामा घाइते भएका दुई जनाको उपचार भइरहेको र आगो निभाउने क्रममा करिब ७० जनालाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन्। रूसले यस घटनामा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन, तर रुमेनियाले यसलाई रुसी पक्षबाट तनाव बढाउने “गम्भीर र अनुत्तरदायी” घटनाका रूपमा व्याख्या गरेको छ। रुमेनियाको रक्षा मन्त्रालयले यस विषयमा नेटो महासचिवलाई जानकारी गराएको र “ड्रोन प्रतिरोध क्षमताको शीघ्र उपलब्धताको अनुरोध” गरेको बताएको छ।

नेटोका एक प्रवक्ताले सामाजिक सञ्जाल ‘एक्स’मा प्रकाशित विज्ञप्तिमा “रुसको लापरवाही”को आलोचना गरेका छन्। उनीहरूले नेटोले “ड्रोनसहित सबै खतराविरुद्ध आफ्नो रक्षा प्रणालीलाई निरन्तर सुदृढ पार्ने” प्रतिबद्धता व्यक्त गरेका छन्। रुमेनियाको आकाशमा ड्रोन देखिन थालेपछि दुईवटा एफ-१६ लडाकु विमान परिचालन गरिएको रक्षा मन्त्रालयले जनाएको छ।

गालाट्स शहर ड्यान्यूब नदी नजिकै अवस्थित छ, जसले रुमेनिया र युक्रेनलाई अलग गरेको छ। रूसले यस नदीमा रहेका बन्दरगाहहरूलाई निरन्तर निशाना बनाउँदै आएको छ। यस वर्ष अप्रिलमा पनि गालाट्समा एक रुसी ड्रोन खसेको थियो, जसबाट केही भौतिक क्षति हुँदा पनि मानवीय क्षति भने भएको थिएन। रुमेनियाको रक्षा मन्त्रालयका अनुसार, रूस-युक्रेन युद्ध सुरु भएयता अहिलेसम्म ४७ पटक रुसी ड्रोन वा तिनका अवशेषहरू रुमेनियामा खसेका छन्। यो वर्ष मात्र १२ पटक यस्ता घटनाहरू भएका छन्।