Skip to main content

महिला अधिकार संरक्षणका लागि साझा प्रतिबद्धताको आवश्यकता: आङ्देम्बे

१६ जेठ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महिला अधिकारको संरक्षण र प्रवर्धनका लागि राज्य, राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण समुदायले साझा प्रतिबद्धतासहित काम गर्नुपर्ने बताएका छन्। आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा शनिबार शुभकामना वक्तव्य जारी गर्दै उनले राज्य, राजनीतिक दल, नागरिक समाज र समग्र समुदायले मिलेर महिला अधिकारको संरक्षण र प्रवर्धन गर्न आवश्यक रहेको बताए।

महिलाको क्षमता, सिर्जनशीलता, नेतृत्व र योगदान राष्ट्र निर्माणका आधारस्तम्भ रहेको औँल्याउँदै आङ्देम्बेले राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता र नेतृत्वबाट मात्र समावेशी, न्यायसंगत र समृद्ध समाज निर्माण सम्भव भएको बताए। संविधानले सुनिश्चित गरेका महिला अधिकारहरूको प्रभावकारी कार्यान्वयन, समान अवसरको सुनिश्चितता साथै महिलाको आत्मनिर्भरता र सशक्तीकरण आजको मुख्य आवश्यकता रहेको उनको भनाइ छ।

‘यो दिवसले महिला अधिकारप्रति थप जागरूकता फैलाउँदै लैङ्गिक समानता, सामाजिक न्याय र समृद्धिको यात्रालाई अझ सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु,’ संसदीय दलका नेता आङ्देम्बेले भनेका छन्।