Skip to main content

सञ्चारमन्त्रीका अनुसार सुशासन र समृद्धिका लागि बजेट निर्माण

१६ जेठ, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले निर्वाचनको समयमा जनतासामु गरेका प्रतिबद्धताहरूलाई व्यवहारमा उतार्न सरकारले नतिजामुखी र दृढतापूर्वक काम गरिरहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तादी गाउँपालिका–५ मा आयोजित कार्यक्रममा सञ्चारमन्त्री तिमिल्सिनाले शुक्रबार संसदमा प्रस्तुत गरिएको बजेटले युवापुस्ताको सुशासन, समृद्धि र परिवर्तनका आकांक्षाहरू सम्बोधन गर्न बनाउन भइरहेको बताए।

उहाँले बजेटले मुलुकको अर्थतन्त्रलाई आगामी दिनमा कुन दिशातर्फ अगाडि बढाउने भन्ने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको बताउँदै सरकारका प्राथमिकता, राजस्व नीति र दीर्घकालीन विकास रणनीतिलाई समेत समेटेको जानकारी दिनुभयो। नीतिगत सुधारमार्फत विकास प्रक्रिया प्रभावकारी, सन्तुलित र समावेशी बनाउन सरकार प्रयासरत रहेको र समानुपातिक विकास सुनिश्चित गर्न प्रतिबद्ध रहेको मन्त्री तिमिल्सिनाले जनाउनुभयो।

“विगत वर्षहरूमा जस्तो छरिएको र उद्देश्यविहीन बजेट होइन, यसपटक राष्ट्रिय आवश्यकतालाई केन्द्रमा राख्दै विकासको स्पष्ट प्रस्थानबिन्दु निर्धारण गर्ने किसिमले बजेट आएको छ,” उहाँले भन्नुभयो। विकास र समृद्धिको लागि नागरिकहरूको आकांक्षा पूरा गर्ने दृष्टिकोणले बजेट तयार गरिएको दावी गर्दै उहाँले सीमित शक्तिशाली समूहमा केन्द्रित हुने अवस्था अन्त्य गर्न सरकार क्रियाशील रहेको बताउनुभयो।

बजेट वक्तव्यले सबै विषयहरू समेट्न नसक्ने भएकाले विस्तृत योजना तथा कार्यक्रमहरू रातो किताबमार्फत सार्वजनिक गरिने पनि उहाँले जानकारी दिनुभयो।