शंकर पोखरेलले विद्युत् भ्याट वृद्धि सरकारले गरेको अविवेकी निर्णय भन्दै आलोचना गरे

१६ जेठ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५० युनिट भन्दा बढी विद्युत् खपत गर्ने ग्राहकहरूलाई मूल्य अभिवृद्धि कर (भ्याट) थप गरिने सरकारको निर्णयको कडा विरोध व्यक्त गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै पोखरेलले ऊर्जा क्षेत्रको विकास र उपभोगमा सरकारले उल्टो बाटो अपनाएको उल्लेख गर्दै यसलाई अविचारित निर्णयको रूपमा जनाए। पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभाव कम गर्ने उद्देश्यले दुई दिन सार्वजनिक बिदा घोषणा गरिए तापनि सरकारले विद्युत् प्रयोगकर्तामाथि थप कर भार थपेको भन्दै उनले यस्तो निर्णय कसको हितमा गरिएको हो भनी प्रश्न उत्त उठाए।
‘नेपाल जलस्रोतमा विश्वकै धनी राष्ट्रमध्ये एक हो। स्वदेशी ऊर्जा उत्पादन र उपभोगलाई प्रोत्साहन दिनुपर्ने अवस्थामा विद्युत् प्रयोगकर्तामाथि थप कर लगाउनु भनेको नेपाली जनतालाई आफ्नै प्राकृतिक स्रोतहरूको सदुपयोगबाट निरुत्साहित गर्ने नीति हो,’ महासचिव पोखरेलले स्पष्ट पारेका छन्।
यस्तै पोखरेलले बजेटमार्फत् विद्युतीय गाडी (ईभी) को प्रयोगलाई रोक्न खोजिएको आरोप पनि लगाए। पेट्रोलियम पदार्थको अभाव र मूल्यवृद्धि भएपछि ‘हरियो ऊर्जा’ प्रवर्द्धन गर्नुपर्ने बेला सरकारले विद्युतीय गाडीमा थप कर भार थपेर उक्त प्रयासलाई प्रभावित बनाएको उनले बताए। बजेटको आकार विस्तार गर्ने बहानामा मात्र आय स्रोत बढाउन यस्ता निर्णय गरिएको भए तत्काल सच्याउन सरकारसँग उनले माग गरे।
सरकारले आफै नाफा लिएर बिक्री गरेको विद्युत् खपत बढ्दा भ्याट लगाएर जनताको भार नबढाउनुपर्ने भन्दै उनले यसलाई आयात प्रतिस्थापन र उत्पादनशील क्षेत्रमा अधिकतम उपयोगका लागि प्रोत्साहित गर्नुपर्नेमा जोड दिए। विद्युत् भ्याट फिर्ता गरिनुपर्ने, जनताको हितमा निर्णय लिनुपर्ने र स्वदेशी ऊर्जाको सम्मान गर्न सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ।






