
गोरखाका अमृत गान्धारीले आफ्ना छोरीहरूसँग मिलेर पारिवारिक ब्यान्डमार्फत ठमेलमा परम्परागत गन्धर्व सङ्गीत र सारङ्गीको प्रवर्द्धन गरिरहेका छन्। गान्धारीले क्लिनिकल म्युजिक थेरापीमार्फत अपाङ्गता भएका बालबालिकाको उपचार गर्नुका साथै आर्जित रकमबाट गरीब बालबालिकालाई शैक्षिक सहयोग गर्दै आएका छन्। उनीहरूले ठमेलमा ‘अविरा म्युजिक सप’ सञ्चालन गरी स्वदेशी तथा विदेशी नागरिकलाई सारङ्गी बजाउन सिकाउनुका साथै यसको बिक्री वितरणसमेत गर्दै आएका छन्। १६ जेठ, काठमाडौं। काठमाडौं गेस्ट हाउसको गार्डेनमा साँझको चिसो हावा चलिरहेको थियो। हल्का पानी परेपछि गर्मीको मौसमलाई शीतलता थपिएको थियो। पर्यटकहरू गेस्ट हाउस भित्रै विभिन्न ठाउँमा हिँडिरहेको देखिन्थ्यो। कसैले चिया त कसैले कफीको कप समातेर आकाश हेर्दै थिए। सम्भावित मौसमको अनुमान चलिरहेको थियो। त्यहि बेला एकाएक मधुर र मिठो स्वर र कर्णप्रिय बाजाले गुन्जन सुरु भयो– ‘के म नेपाली होइन र के मलाई माया छैन र… बाजेले खामो गाडेको झोलीको डोब छैन र…’ सारङ्गी, मादल, बाँसुरी जस्ता बाजाबाट निस्किएको यो मार्मिक धुनले सबैको ध्यान तान्यो। मादलको तालले सारङ्गीमा थप मिठास थप्दै थियो। गीतका हरेक शब्दले पुरानो पुस्ताको संघर्ष, पहिचान र माटोसँगको सम्बन्ध झल्काउँथ्यो। अर्को छिनमा केही पर्यटक फोन र क्यामेरासहित अगाडि आए। र, एकटक हेरेपछि — बाबा अमृत गान्धारी र छोरीहरू अनु गान्धारी तथा दृष्टि गान्धारीको प्रस्तुति थियो। गाउने र बजाउनेहरूको अनुहारमा थकानको कुनै झलक थिएन। संगीतप्रतिको गहिरो समर्पण उनीहरूमा प्रष्ट देखिन्थ्यो। यी कलाकारहरू गन्धर्व समुदायका हुन्। उनीहरूले नेपाल आएका पर्यटकहरूलाई मनोरञ्जन दिने र आफ्नो परम्परागत बाजा विश्वभर चिनाउने उद्देश्यले निरन्तर काम गरिरहेका छन्। बाबा अमृतको दैनिकी नै यही जोडिएको छ। ठूली छोरी अनुले सारङ्गी र स्वरमा तथा सानी छोरी दृष्टिले मादलमा अमृतलाई सधैं साथ दिँदै आएकी छन्। अनु हाल स्नातक चौथो वर्ष पढ्दैछिन् भने दृष्टिले भर्खरै माध्यमिक शिक्षा परीक्षा(एसईई) दिएकी छन्। यी बाबा–छोरीले पारिवारिक ब्यान्ड स्थापना गरेका छन्। विशेषगरी अनु र दृष्टिका हातमा सारङ्गी र मादल देख्दा भन्न सकिन्छ — आफ्ना बाबुआमाको परम्परा अब छोरीहरूको कोमल हातमा सरेको छ। ‘हामीले २०१२ मा ब्यान्ड बनाएर यसरी यस्ता ठाउँमा झुम्न थालेका हौं,’ अमृत भन्छन्, ‘पहिले ठमेलका साथीहरू मिलेर सुरु गरेका थियौं, पाँच–छ जना थियौं। लकडाउनपछि साथीहरू पढाइ, काम र विदेश गएको कारण मैले आफ्ना छोरीहरूलाई सिकाउन थालेँ।’ त्यसपछि अनुले सारङ्गी सिकिन् र दृष्टिले मादल बनाउन प्रयास गरिन्। छोरीहरू पनि उत्साहित भएर सिक्दै गएका थिए। ‘अहिले हामी परिवारकै टोलीले यो हाम्रो परम्परा जोगाउने धुन बोकेका छौं,’ अमृतले भने। अमृतका अनुसार उनी गोरखा जिल्लाको सानो गन्धर्व बस्तीमा हुर्किएका हुन्। सो गाउँमा १०–१२ घर मात्रै छन्। पुस्तौँदेखिका गन्धर्वहरू सारङ्गी बोकेर गाउँ–गाउँ घुम्थे। कुनै घटना भए त्यसलाई गीतमा उतारेर अर्को गाउँमा पुर्याउँथे। रेडियो र टेलिभिजन नहुँदा गन्धर्वहरू नै खबर पुर्याउने माध्यम थिए। त्यो गीतबाट कमाएको पैसाले उनीहरू परिवार पाल्थे। ‘मेरो बाबा र हजुरबाले पनि सारङ्गी बजाएर जीवन बिताउनुभयो,’ अमृत भन्छन्, ‘बाल्यकालमा बाबामामा गाउँ–गाउँ सारङ्गी बजाएको देखें। उहाँहरू घरमा कमै बस्नुहुन्थ्यो। त्यही देखेर म यो कलामा रमाएँ। हाम्रो रगतमा सारङ्गी बग्छ।’ समयसँगै गाउँमा घुम्नेभन्दा पर्यटकीय क्षेत्रमा कला देखाउन थाले। यसरी काठमाडौंको ठमेलस्थित काठमाडौं गेस्ट हाउसमा नयाँ पुस्ता त्यहाँ ल्याइयो। अहिले उनीहरू हरेक साँझ ६ देखि ८ बजेसम्म नियमित साँगीतिक कार्यक्रममा आबद्ध छन्। यी कार्यक्रमहरू रेस्टुरेन्ट, होटल र विभिन्न इभेन्टहरूमा समेत पुग्दछन्। पर्यटकहरूले ठूलो समूहमा आएर नेपाली संस्कृति र संगीत खोज्दा उनीहरूलाई बोलाइन्छ। विदेशी पर्यटकहरू गिटार, ड्रम र आफ्ना देशका बाजा सुन्दै आउँछन्। तर सारङ्गी र गन्धर्व गीत सुन्दा मन्त्रमुग्ध हुन्छन्। धेरैले अमृत, अनु र दृष्टिलाई भन्छन् — तपाईंहरूको संगीत एकदम राम्रो छ, हामीले खोजेको यस्तै थियो। आफ्ना संस्कृति र परम्परालाई जोगाएकोमा पर्यटकहरू पनि खुसी देखिन्छन्। केही त खोज्दै–खोज्दै प्रस्तुति गर्ने ठाउँसम्म आइपुग्छन्। विदेशी पर्यटकको माया र सम्मानले उनीहरूलाई थप उर्जा मिल्छ। पर्यटकहरूले खुशी हुँदै टिप्स पनि दिन्छन्। तर उनीहरूको लागि संगीत र समर्पण टिप्स कमाउने माध्यम मात्र होइन। उद्देश्य केवल पैसाको लागि पनि होइन। ‘जीवनमा आम्दानी आवश्यक छ, तर सबैथोक होइन,’ अमृत भन्छन्। पर्यटकले दिने टिप्स दुई भागमा बाँडिन्छ — परिवारको खर्च र गरिब, असहाय बालबालिकालाई सहयोग गर्न। वर्षमा ६ महिना टिप्स जम्मा गरेर ८ देखि १० बालबालिकालाई किताब, कापी, कलम, झोला र नगद सहयोग गरिन्छ। ‘जसको परिवारले आधारभूत सामग्री किन्न सक्दैन, उनीहरूलाई प्राथमिकता दिइन्छ,’ अमृतले बताए। ‘हामीले पाएको केही अरूलाई बाँड्दा मन शान्त हुन्छ। यो कुनै ठूलो कुरा होइन, सामान्य मानवीय धर्म हो।’ भारतबाट क्लिनिकल म्युजिक थेरापीमा पोस्टग्रेजुएट डिप्लोमा गरेर फर्केपछि अमृतले थप व्यवस्थित तरिकाले काम गर्न थाले। इमाडोलस्थित कृपा काउन्सिलिङ एण्ड थेरापी सेन्टरमार्फत उनीहरू अटिजम, डाउन सिन्ड्रोम र लर्निङ डिसेबिलिटी भएका बालबालिकासँग कार्यरत छन्। ‘संगीतले बोली नआउने बच्चालाई बोल्न सिकायो, एक्लो बच्चालाई साथी बनायो, हातखुट्टाको चाल सुधार गरायो,’ अमृतले दाबी गरे, ‘यो कुनै मिथ वा जादु होइन, वर्षौँको वैज्ञानिक अनुसन्धानमा आधारित छ। हामीले प्रत्यक्ष देखेका छौँ।’ संवाद जारी राख्दै अमृतले आफ्नो समुदायको गौरवपूर्ण इतिहास सुनाए। गन्धर्व समुदायको इतिहास छ, जहाँ अप्सराहरू नाच्थिन् र गन्धर्वहरू सारङ्गी बजाउँथे। पृथ्वीनारायण शाहको नेपाल एकीकरणको बेला मणिराम गाइनेले सारङ्गी बजाएर बहादुर सेनालाई हौसला दिएका थिए। जनआन्दोलनमा रुबिन गन्धर्वले गीतमार्फत महत्वपूर्ण योगदान गरेका थिए। विशेष आन्दोलनहरूमा गीतले परिवर्तन ल्याउन योगदान दिएको थियो। घटना र कथालाई गीतमा उतारेर जनतासम्म पुर्याउने परम्परा थियो। अहिले पनि यो परिवारले त्यो उत्तरदायित्व बोकेको छ। उनीहरू गोर्खाको आफ्नो बस्तीमा बालबालिका र महिलाहरूलाई सारङ्गी र मादल सिकाउने काम नियमित गरिरहेका छन्। ठमेलमा ‘अविरा म्युजिक सप’ खोल्दै सारङ्गी बिक्री र सिकाइ गर्दै आएका छन्। युट्युब च्यानलमा बेसिकदेखि एडभान्स ट्युटोरियल राखेका छन्। विदेशीहरूले पनि ‘नेपालको पहिचान’ भन्दै सारङ्गी किनेर लगिन्छन्। कतिले सिकेर पनि जान्छन्। सारङ्गी किन्ने र सिकेर खुसी हुँदै फर्किएका पर्यटक धेरै छन्। केही भने स्किल नआए पनि घरमा सजाएर राख्छन्। ‘हामीले सक्दो प्रयास गरिरहेका छौं,’ अमृत भन्छन्, ‘अरू समुदायले पनि आफ्नो परम्परागत बाजा जोगाउनुपर्छ। सबै मिलेर मात्र हाम्रो सांस्कृतिक धरोहर बचाउन सकिन्छ।’ तिनीहरू गफिँदै आफ्नो पारिवारिक ब्यान्डको प्रस्तुति निरन्तर गर्दै थिए। अमृत, अनु र दृष्टि बाजा बजाउँदै गाइरहेका थिए – ‘सीता रानी वनैमा आज लहरी चल्यो मनैमा… ।






