
नेपाल स्कुल स्पोर्ट्स फेडेरेसन र ब्रिज इन्टरनेशनलबीच विद्यालय खेलकुद तथा उच्च शिक्षा प्रवर्द्धनका लागि सहकार्य सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार, ब्रिजले फेडेरेसनको सिफारिशमा २ जना विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयमा खेल विज्ञान अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नेछ। ब्रिजका निर्देशक भुवन गिरी एनएसएसएफ इन्टरनेसनल डेभलपमेन्ट कमिटी यूकेको अध्यक्षमा मनोनयन भएका छन्। १७ जेठ, काठमाडौं।
नेपाल स्कुल स्पोर्ट्स फेडेरेसन (एनएसएसएफ) र ब्रिज इन्टरनेशनल कन्सल्टेन्सी एण्ड माइग्रेसनबीच विद्यालय खेलकुद तथा उच्च शिक्षाको प्रवर्द्धनका लागि सहकार्य भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा आइतवार आयोजना गरिएको एक कार्यक्रममा दुबै पक्षबीच सहकार्य सम्झौतामा हस्ताक्षर भएको हो। उक्त समझदारीपत्रमा नेपाल स्कुल स्पोर्ट्स फेडेरेसनका तर्फबाट महासचिव राजकुमार कार्की र ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीका निर्देशक भुवन गिरीले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार विद्यालय खेलकुद विकास, खेलसँग सम्बन्धित शैक्षिक कार्यक्रमको प्रवर्द्धन, छात्रवृत्ति अवसर विस्तार तथा अन्तर्राष्ट्रिय शैक्षिक अवसरमा पहुँच अभिवृद्धि गर्ने उद्देश्य समावेश गरिएको छ। दुवै संस्थाले विद्यालय तहको खेलकुदलाई थप व्यवस्थित, प्रतिस्पर्धात्मक र प्रभावकारी बनाउने साझा लक्ष्य राखेका छन्। सम्झौताअनुसार एनएसएसएफले सिफारिस गरेका दुई जना विद्यार्थीलाई ब्रिजले त्रिभुवन विश्वविद्यालयमा खेल विज्ञान (स्पोर्ट्स साइन्स) विषयमा स्नातकोत्तर तहमा अध्ययनका लागि छात्रवृत्ति दिनेछ।
छात्रवृत्ति एक जना छात्र र एक जना छात्राका लागि हुनेछ। प्रत्येक विद्यार्थीलाई चार सेमेस्टर अवधिका लागि करिब दुई लाख ३८ हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिने उल्लेख छ। साथमा, एनएसएसएफले योग्य र मेधावी विद्यार्थी चयन र सिफारिस गर्ने जिम्मेवारी लिनेछ। छात्रवृत्ति वितरण सम्बन्धित शैक्षिक संस्थाका नियम र नीतिअनुसार सञ्चालन हुनेछ। सम्झौतामा प्रायोजन र खेलकुद कार्यक्रम सञ्चालनसम्बन्धी सहकार्यलाई पनि प्राथमिकता दिइएको छ।
ब्रिजले एनएसएसएफद्वारा आयोजना गरिने वार्षिक खेलकुद प्रतियोगितामा शीर्ष प्रायोजक (टाइटल स्पोन्सर)को भूमिका निर्वाह गर्ने सहमति जनाएको छ। साथै जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका अन्तरविद्यालय खेलकुद प्रतियोगिता तथा कार्यक्रमहरू संयुक्त रूपमा आयोजना गर्ने समझदारी भएको छ। गेम्स, कप, कम्ब्याट गेम्स तथा स्कुल प्रिमियर लिग (एसपीएल)जस्ता प्रतियोगिताहरूमा सहकार्य गरिने उल्लेख गरिएको छ। ब्रिजले खेल सामग्री, खेल पोशाक र विभिन्न शैक्षिक तथा खेलकुद कार्यक्रमका लागि आवश्यक स्रोत साधन उपलब्ध गराउने पनि सहमतिपत्रमा उल्लेख छ। यस समझदारीलाई विद्यालय खेलकुद र खेल शिक्षा क्षेत्रमा ठूलो उपलब्धि मानिएको छ।
सम्झौताले प्रतिभाशाली विद्यार्थी खेलाडीलाई उच्च शिक्षामा पहुँच बढाउनका साथै नेपालमा विद्यालय खेलकुदको दिगो विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा महासचिव राजकुमार कार्कीले विद्यार्थीहरूलाई स्वदेशमै पढ्ने वातावरण सिर्जना गर्न ब्रिजले गरेको सहयोगलाई सराहनीय उदाहरण माने। ब्रिजका निर्देशक भुवन गिरीले यो सहकार्यले विद्यार्थीहरूलाई विदेश पठाउने मात्र नभई स्वदेशमै बसेर पनि उच्च शिक्षा हासिल गर्न सकिने र नेपाली खेलकुदको विकासका लागि यसअघि पनि काम गर्दै आएको बताए।






