
राती ९:४० बजे प्रतिनिधिसभाको तेस्रो बैठक बस्दै
विपक्षी दलहरूको विरोधका बाबजुद प्रतिनिधिसभाले दोस्रो बैठकमा नियमावली पारित गरेको छ। प्रतिनिधिसभाको तेस्रो बैठक आज राति ९:४० बजे बस्ने गरी आह्वान गरिएको छ। बैठकमा राष्ट्रिय सभाबाट फिर्ता आएको निर्वाचन र मतदाता नामावलीसम्बन्धी दुई विधेयक टेबुल गर्ने कार्यसूची राखिएको छ। १७ जेठ, काठमाडौं।
राति ९:४० बजे प्रतिनिधिसभाको तेस्रो बैठक बस्दैछ। दिउँसो १ बजे सुरु भएको बैठक राति सम्म जारी रह्यो। विपक्षी दलहरूको विरोधका बाबजुद प्रतिनिधिसभाले नियमावली पारित गर्ने प्रक्रिया अघि बढाएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो। दोस्रो बैठकले विरोधका बाबजुद प्रतिनिधिसभा नियमावली पारित गरेको छ।
सभामुखले कार्यसूचीमा रहेका बाँकी विषयहरू हटाएपछि तेस्रो बैठक राति ९:४० बजे बस्ने गरी आह्वान गरिएको हो। तेस्रो बैठकको कार्यसूचीमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउने विषय समावेश छ। साथै, मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने विषय पनि छ। यी दुवै विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा प्रस्तुत गरिएका थिए। राष्ट्रिय सभाले आजै ती विधेयकहरू पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको थियो।