प्रधानमन्त्री बालेन शाहका सीमा सम्बन्धी अभिव्यक्तिप्रति नेपाली कांग्रेसको आपत्ति

नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै सार्वजनिक वक्तव्य जारी गरेको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेले प्रधानमन्त्रीका अभिव्यक्तिहरूले नेपालको सीमासम्बन्धी दाबीलाई कमजोर पार्ने र आत्मघाती हुने बताएका छन्। सीमा विवादबारे बेलायतसँग कुराकानी भइरहेको भन्ने प्रधानमन्त्रीको दाबी कांग्रेसका लागि आपत्तिजनक र हास्यास्पद रहेको जनाएको छ। १७ जेठ, काठमाडौं।
प्रधानमन्त्री बालेन शाहका अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आफ्नो असहमति जनाएको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेले जारी गरेको वक्तव्यमा प्रधानमन्त्रीका सीमासम्बन्धी विचारहरू नेपालको संवैधानिक नक्सा, ऐतिहासिक तथ्य, अकाट्य प्रमाण र आम नेपालीको राष्ट्रिय भावनाविरुद्ध रहेको बताएका छन्। यस्ता विचारहरू कांग्रेसका लागि स्वीकार्य नभएको उनले स्पष्ट पारेका छन्।
कांग्रेसले प्रधानमन्त्रीका अभिव्यक्तिले नेपालको दाबी कमजोर बनाएको समेत उल्लेख गरेको छ। वक्तव्यमा भनिएको छ, ‘कूटनीतिक माध्यमबाट लिम्पियाधुरा, लिपुलेक, कालापानी तथा अन्य सीमासम्बन्धी विषयहरू सम्बोधन गर्ने सहमतिमा गम्भीर आघात पुगेको छ र यसले नेपालको दाबीलाई स्वतः कमजोर बनाउने आत्मघाती काम गरेको छ।’
भारतसँगको सीमा विवादको विषयमा बेलायतसँग कुरा भइरहेको भन्ने प्रधानमन्त्रीको भनाइ कांग्रेसका लागि आपत्तिजनक रहेको छ। कांग्रेसले भनेको छ, ‘सीमा समस्याबारे इंग्ल्याण्ड (बेलायत) सँग कुरा भइरहेको भनाइ आपत्तिजनक र चरम हास्यास्पद छ।’ यस विषयमा कांग्रेसले रास्वपाबाट धारणा पनि माग्ने जनाएको छ।






