
साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै आईपीएल २०२६ को उपाधि रक्षा गरेको छ। अहमदाबादमा भएको फाइनल खेलमा बेंगलुरुका विराट कोहलीले अविजित ७५ रन बनाए भने रसिख सलामले ३ विकेट लिए। यो जितसँगै बेंगलुरु आईपीएलमा लगातार दुई पटक उपाधि रक्षा गर्ने तेस्रो टोली बनेको छ।
१७ जेठ, काठमाडौं। साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले आईपीएल २०२६ को उपाधि जितेको छ। आइतबार भएको फाइनलमा गुजरात टाइटन्सलाई हराउँदै बेंगलुरुले उपाधि रक्षा गरेको हो। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनलमा बेंगलुरुले गुजरातमाथि ५ विकेटको स्पष्ट जित हासिल गर्यो। गुजरातले दिएको १५६ रनको मध्यम लक्ष्य बेंगलुरुले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
बेंगलुरुका लागि विराट कोहलीले सर्वाधिक अविजित ७५ रन बनाए। उनले ४२ बल खेलेका थिए र ९ चौका, ३ छक्का प्रहार गरे। भेनकटेश अय्यरले ३२ रन बनाए। गुजरातका लागि राशिद खानले २ विकेट हात पारे भने मोहम्मद सिराज, कगिसो रबाडा र अर्शद खानले १-१ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। वासिङ्टन सुन्दरले सर्वाधिक अविजित ५० रन बनाए। निशान्त सिन्धुले २० र जस बट्लरले १९ रन बनाए। बेंगलुरुको लागि रसिख सलामले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए। जोश हेजलवुड र भुवनेश्वर कुमारले २-२ तथा क्रुनाल पान्ड्याले १ विकेट लिए। यसअघि पहिलो क्वालिफायरमा पनि बेंगलुरुले गुजरातलाई हराएको थियो।






