Skip to main content

नेपाली कांग्रेसले प्रधानमन्त्रीका अभिव्यक्तिमाथि छानबिन समिति गठनको माग गरेको

नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिमाथि छानबिन समिति गठनको माग गरेको छ। सांसद रञ्जित कर्णले नेपालले मिचेको जग्गाको तथ्य २४ घण्टाभित्र सार्वजनिक गर्न वा माफी माग्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा कूटनीतिक छलफलबाट नेपाल–भारत सीमा विवाद समाधान गर्ने बताए। १८ जेठ, काठमाडौं।

सोमबार राष्ट्रिय सभाको बैठक सुरु हुनासाथ आकस्मिक समय लिएर पार्टीको तर्फबाट बोल्दै कांग्रेसका सांसद रञ्जित कर्णले यस्तो माग राखेका हुन्। उनले भने, “आज यो राष्ट्रिय सभाले विशेष निर्णय गर्नुपर्छ। सम्माननीय प्रधानमन्त्रीले व्यक्त गर्नुभएको कुराको कारण के हो? यसबारे छानबिन समिति गठन गर्न म माग गर्दछु।” यसअघि पनि प्रधानमन्त्री बालेनलाई आफ्नो अभिव्यक्तिको तथ्य सार्वजनिक गर्न अल्टिमेटम दिइएको छ।

सांसद कर्णले भनेका छन्, “हिजो प्रधानमन्त्रीले प्रतिनिधिसभाको रोष्टमबाट नेपालले भारतको केही जमिन मिचेको कुरा स्वीकार गर्नुभयो। सम्माननीय प्रधानमन्त्रीलाई अनुरोध गर्दछु– २४ घण्टाभित्र नेपाल सरकारले भारतका कुन ठाउँहरूमा जमिन मिचेको हो भन्ने जानकारी सार्वजनिक गराउन आग्रह गर्न चाहन्छु।” उनले थपे, “यदि तथ्य सार्वजनिक गर्ने हुन सकेन भने उहाँले जनतासँग माफी माग्नुपर्ने हुन्छ।” आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेनले नेपाल–भारत सीमा विवाद कूटनीतिक छलफलबाट समाधान गर्ने बताउनु भएको थियो। यस क्रममा उहाँले भन्नुभएको थियो, “अचम्म लाग्ला, मैले पनि प्रधानमन्त्री भएपछि थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको धेरै ठाउँमा जमिन मिचेको रहेछ।” यस अभिव्यक्तिको विरोध गर्दै कांग्रेसले प्रधानमन्त्रीसँग जवाफ माग्दै छानबिन समिति गठनको प्रस्ताव गरेका छन्। साथै, राष्ट्रिय सभामा प्रधानमन्त्रीले सांसदहरूसँग प्रश्नोत्तर गर्ने व्यवस्था गर्नुपर्ने कांग्रेसको माग छ।