मलेसियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने नयाँ कानुन लागू गर्यो

मलेसियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने नयाँ कानुन लागू गरेको छ। यो नियम उल्लंघन गर्ने सामाजिक सञ्जाल कम्पनीहरूलाई १ करोड मलेसियन रिंगिटसम्म जरिवाना हुने व्यवस्था गरिएको छ। बालबालिकालाई साइबर दुर्व्यवहार र मानसिक दबाबबाट जोगाउन सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने उद्देश्यले यो नीति ल्याइएको हो।
सोमबारदेखि लागू भएको उक्त नियमअनुसार, १६ वर्षभन्दा कम उमेरका बालबालिकाले सामाजिक सञ्जालमा व्यक्तिगत खाता सिर्जना गर्न वा सञ्चालन गर्न पाउने छैनन्। नयाँ व्यवस्थाअनुसार, सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्नेछ। त्यस्तै, १६ वर्षमुनिका बालबालिकाले खाता दर्ता गर्न नदिने र यस्ता खाताहरू पहिचान गरी ब्लक गर्ने जिम्मेवारी सम्बन्धित कम्पनीहरूको हुनेछ।
यो नियम फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्यूब लगायतका लाखौं प्रयोगकर्ता भएका प्रमुख सामाजिक सञ्जालहरूमा लागू हुनेछ। नियम उल्लङ्घन गर्ने कम्पनीहरूलाई एक करोड मलेसियन रिंगिटसम्मको जरिवाना गरिन सक्ने व्यवस्था गरिएको छ। मलेसिया सरकारले बालबालिकालाई अनलाइनमा फैलिने हानिकारक सामग्री, साइबर दुर्व्यवहार, मानसिक दबाब र सामाजिक सञ्जालको अत्यधिक प्रयोगबाट सुरक्षा गर्ने उद्देश्यले यो कदम चालेको जनाएको छ।
सरकारका अनुसार विगत केही वर्षमा बालबालिकामाथि डिजिटल माध्यमबाट बढ्दो जोखिमहरू देखिएपछि कडाई आवश्यक भएको हो। यद्यपि, बालबालिकाले नियम छल्ने उद्देश्यले खाता खोल्दा अभिभावकहरूलाई कुनै कानुनी कारबाही गरिने छैन। सरकारले मुख्यतः सामाजिक सञ्जाल कम्पनीहरूलाई उत्तरदायी ठहर्याउनेतर्फ ध्यान केन्द्रित गरेको छ। मलेसियाको सञ्चार तथा बहुमाध्यम आयोगले यो नीति बालबालिकालाई इन्टरनेटबाट टाढा राख्ने होइन, उनीहरूका लागि सुरक्षित र उमेरअनुकूल डिजिटल वातावरण सिर्जना गर्ने उद्देश्यले ल्याइएको स्पष्ट पारेको छ।






