Skip to main content

क्यान्सर निको पार्ने नयाँ सिरिन्जको सफल परीक्षण

१८ चैत, काठमाडौं । चिकित्सकहरूले क्यान्सर उपचार क्षेत्रमा ऐतिहासिक सफलता हात पारेका छन्। उपचारले निको पार्न नसकेको केही बिरामीका ट्युमरहरूलाई पूर्ण रूपमा हटाउन सक्षम नयाँ इन्जेक्सनको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ। ‘जोन्सन एण्ड जोन्सन‘ कम्पनीले विकास गरेको ‘अमिभान्तामाब‘ नामक यस सिरिन्जलाई ११ देशमा क्लिनिकल परीक्षण गरिएको थियो। विशेषगरी अन्य उपचार असफल भएका बिरामीहरूमा, जसका क्यान्सर शरीरका अन्य भागहरूमा फैलिएका वा पुनः सक्रिय भएका थिए, यस परीक्षण गरिएको थियो।

परीक्षणमा एक तिहाइभन्दा बढी बिरामीहरूको ट्युमर सानो भएको पाइएको छ भने केही हप्ताभित्रै यस सिरिन्जको उल्लेखनीय प्रभाव देखिएको छ। चिकित्सकहरूका अनुसार १५ जना बिरामीका ट्युमरहरू पूर्ण रूपमा गायब भएको छ। लन्डनस्थित ‘इन्स्टिच्युट अफ क्यान्सर रिसर्च‘ का प्राध्यापक केभिन ह्यारिङ्टनका अनुसार, केमोथेरापी र इम्युनोथेरापी दुवै असफल भएका बिरामीहरूमा यस्तो बलियो परिणाम देखिनु अत्यन्तै विशेष कुरा हो।

उपचारका सबै विकल्प समाप्त भएका बिरामीहरूमा यो औषधिबाट प्राप्त फाइदा आश्चर्यजनक छ र यसले हरेक वर्ष हजारौं बिरामीहरूलाई बचाउने क्षमता राख्दछ, उनले बताए। यस परीक्षणमा टाउको र घाँटीको क्यान्सर भएका १०२ जना बिरामीहरू सहभागी थिए, जुन क्यान्सर विश्वमा छैटौँ सबैभन्दा प्रचलित प्रकार हो। तीमध्ये ४३ जनाको ट्युमर खुम्चिएको वा पूर्ण रूपमा हटेको छ। २८ जनाको ट्युमर सानो भएको र १५ जनाको शरीरबाट क्यान्सर पूर्ण रूपमा हराएको छ।

टाउको र घाँटीका अतिरिक्त फोक्सोको क्यान्सर भएका बिरामीहरूमा पनि यस औषधिले समान सकारात्मक प्रभाव देखाएको छ। यसले क्यान्सर फैलाउने प्रोटिनलाई रोक्छ र शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई सक्रिय पारेर ट्युमरसँग लड्न सहयोग गर्छ। सन् २०२४ मा जब जिब्रोको क्यान्सर भयो, त्यतिबाट सन् २०२५ देखि परीक्षणमा सहभागी भएका ५६ वर्षीय कार्ल वाल्सले औषधिको प्रभावप्रति खुसी व्यक्त गरेका छन्। पहिले ऐंठन र दुखाईका कारण बोल्न र खान गाह्रो हुन्थ्यो, अहिले भने उनी सामान्य जीवन बिताउँदै छन्।

हाल, विश्वभरि करिब ६० वटा क्लिनिकल परीक्षणहरू यस औषधिको प्रभावकारिता जाँच्न सञ्चालनमा छन्। मुख्य रूपमा फोक्सो, मस्तिष्क, पेट र ठूलो आन्द्राको क्यान्सरमा यसको प्रभाव अध्ययन भइरहेको छ। यस ऐतिहासिक अनुसन्धानको नतिजा शिकागोमा आयोजना हुने ‘अमेरिकन सोसाइटी अफ क्लिनिकल ओन्कोलोजी‘ को वार्षिक बैठकमा सार्वजनिक गरिनेछ।