
समाचार सारांश सम्पादकीय पुनरावलोकन गरिएको। डा. विक्रम तिमिल्सिनाले नुवाकोट क्षेत्र नं १ मा कांग्रेस र नेकपाका प्रभावशाली उम्मेदवारलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट पहिलो पटक सांसद निर्वाचित भएका छन्। तिमिल्सिनाले चुनावी अभियान उत्साहजनक रहेको र जनता नयाँ विकल्पको आशाले भरिएका थिए भने पुराना दलप्रतिको निराशा र परिवर्तन खोज्ने चाहना जितको आधार भएको बताए। उनले राष्ट्रिय स्वार्थलाई प्राथमिकता दिँदै नेपालको सार्वभौमिकता र स्वतन्त्रता जोगाउन रास्वपाले स्पष्ट नीति अपनाउने र आन्तरिक एकता र जिम्मेवार राजनीतिक आचरणमा केन्द्रित रहने बताए।
प्रतिनिधि सभाको निर्वाचनबाट यसपटक धेरै नयाँ पुस्ताका प्रतिनिधि जनताले सांसदको रूपमा निर्वाचित भएका छन्। तीमध्ये एक हुन्—डा. विक्रम तिमिल्सिना। नुवाकोटको क्षेत्र नं १, जुन कांग्रेसको गढ मानिन्छ, डा. रामशरण महत पछि यसपटक उनका भाइ डा. प्रकाशशरण महतले प्रतिस्पर्धा गरेका थिए। नेकपाबाट पूर्वमन्त्री समेत रहेका हितबहादुर तामाङ पनि उम्मेदवार थिए। यी प्रभावशाली उम्मेदवारहरूलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम तिमिल्सिनाले जित हासिल गरे। उनी करिब दुई वर्षअघि यस पार्टीमा प्रवेश गरेका थिए।
अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीति शास्त्रमा विद्यावारिधि गरेका तिमिल्सिना, नेपाल फर्केर अध्यापन क्षेत्रमा संलग्न थिए। त्यही क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीमै आबद्ध भई यसपटक प्रतिस्पर्धा गरेर पहिलो प्रयासमै सफलता पाएका हुन्। अष्ट्रेलिया जानुअघि करिब १० वर्ष रेडियो सगरमाथामा सञ्चारकर्मीको रूपमा काम गरेका तिमिल्सिनाले अब अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीतिक विषयहरूमा गहिरो ज्ञान प्राप्त गरेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा सक्रिय छन्।
दुर्गा खनालसँग भएको कुराकानीमा डा. तिमिल्सिनाका कुराहरू यसप्रकार छन् : नुवाकोट-१ निर्वाचन क्षेत्र निकै ‘टफ’ मानिन्थ्यो। त्यहाँ पुराना दललाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित हुनुभयो। चुनावी अनुभव कस्तो रहयो? चुनावी अनुभव एकदम उत्साहजनक रह्यो। मैले यो चुनावलाई धेरै रमाइलो मानें। हामीले यो चुनाव साधारण नभई असामान्य परिस्थितिको अन्त्यका लागि लडिरहेका थियौं। हामीले सकारात्मक राजनीतिक संस्कार स्थापना गर्ने र राम्रो अभियान गर्ने लक्ष्य लिएर अघि बढेका थियौं। अभियानका कुनै दिन हामी निराश हुँदै घर फर्कनुपरेन। जनताको चाहना र हाम्रो योजना मेल खाँदा यो अनुभव अद्भुत रह्यो।






