
चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र पिपल्स डेलीले आर्टिफिसियल इन्टेलिजेन्सलाई अमेरिकासँगको सहकार्यका लागि नयाँ क्षितिजका रूपमा व्याख्या गरेको छ। चिनियाँ र अमेरिकी राष्ट्रपतिबीचको समझदारी अनुसार दुवै देशले एआई प्रविधिको क्षेत्रमा सरकारी स्तरको संवाद संयन्त्र स्थापना गर्ने सहमति गरेका छन्। चीनले एआई प्रविधिलाई राजनीतिकरण र हतियारको रूपमा प्रयोग गर्न खोजेको भन्दै चिप निर्यातमा अमेरिकी नियन्त्रणको आलोचना गरेको छ।
१८ जेठ, काठमाडौं। पिपल्स डेलीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई अमेरिकासँगको सहकार्यका लागि एउटा ‘‘नयाँ क्षितिज’’ का रूपमा परिभाषित गरेको छ। सोमबार प्रकाशित एक सम्पादकीयमा पिपल्स डेलीले एआई प्रविधिलाई दुई देशबीच द्विपक्षीय सम्बन्धमा कसरी जोड्न सकिन्छ भन्नेबारे बेइजिङको स्पष्ट दृष्टिकोण व्यक्त गरेको हो। यो टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गत महिना सम्पन्न चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनपिङसँग भएको समझदारीको पृष्ठभूमिमा आएको हो।
सम्पादकीयमा विश्वले एआई प्रविधिको क्षेत्रमा कुनै प्रकारको ‘‘आयरन कर्टेन’’ वा यस प्रविधिलाई प्रतिस्पर्धी शक्ति केन्द्रहरूमा विभाजन गर्ने प्रयास नचाहेको उल्लेख छ। एआई क्षेत्रलाई पूर्ण प्राविधिक विच्छेदको नयाँ मोर्चा बनाउनुको सट्टा प्रतिस्पर्धा र सहकार्य सँगसँगै अघि बढ्ने क्षेत्रका रूपमा राखिनुपर्ने तर्क चिनियाँ सञ्चारमाध्यमले गरेको छ।






