Skip to main content

कांग्रेसको क्रियाशील सदस्यता विवादमा पूर्णबहादुर खड्काको दृष्टिकोण

१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस १० अघि र पछि वितरण भएका क्रियाशील सदस्यतालाई कायम राख्नुपर्नेमा आफू दृढ रहेको बताएका छन् । सोमबार क्रियाशील सदस्यता सम्बन्धमा जारी गरेको एउटा प्रेस विज्ञप्तिमा उनले १५ औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने आफ्नो प्रतिबद्धता व्यक्त गर्दै सदस्यता विषयमा सबैमा आश्वस्त हुनु पर्ने उल्लेख गरेका छन् ।

‘नेपाली कांग्रेसको १५ औं महाधिवेशनलाई सम्पूर्ण एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्न हामी प्रतिबद्ध छौं । पार्टीको १५ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण र वितरणको काम २०८२ पौष १० गतेसम्म अधिकांश टुंगिसकेको छ,’ खड्काले वक्तव्यमा भनेका छन् । उनले भने, त्यो बेला नवीकरण गर्न छुटेका, नवीकरण गर्न चाहने तथा नयाँ क्रियाशील सदस्यता लिन चाहने सबैलाई सदस्यता वितरण गरिनुपर्ने आवश्यक रहेको बताएका छन् ।

त्यसैगरी, पौष १० गतेसम्म क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरण भएका सदस्य र त्यसपछि नवीकरण र नयाँ सदस्यता लिएका सबैको पनि १५ औं महाधिवेशनमा सहभागिता सुनिश्चित गर्ने कुरामा आफू दृढ एवं प्रतिबद्ध रहेको उनले स्पष्ट पारेका छन् ।