कालिन्चोकमा अल्पाईन स्पोर्ट्स फेडेरेसनको साधारणसभा र साहसिक खेलकुद कार्यक्रम सम्पन्न

अल्पाईन स्पोर्ट्स फेडेरेसन नेपालको पाँचौं वार्षिक साधारणसभा र साहसिक खेलकुद कार्यक्रम दोलखाको पर्यटकीय क्षेत्र कालिन्चोकमा सम्पन्न भएको छ। समुद्री सतहबाट ३ हजार ४५० मिटर उचाइमा सम्पन्न टग अफ वार प्रतियोगितामा कोशी प्रदेशले बागमती प्रदेशलाई हराउँदै उपाधि जितेको छ। दिगो पर्यटन प्रवर्द्धनका लागि काठमाडौंदेखि कालिन्चोकसम्म ‘टुर डे हिमालय’ शीर्षकमा मोटरसाइकल र्याली आयोजना गरिएको थियो।
१८ जेठ, काठमाडौं। विश्व सगरमाथा दिवसको अवसरमा अल्पाईन स्पोर्ट्स फेडेरेसन नेपालको पाँचौं वार्षिक साधारणसभा र विभिन्न साहसिक खेलकुद कार्यक्रमहरू हिमाली जिल्ला दोलखाको प्रसिद्ध पर्यटकीय क्षेत्र कालिन्चोकमा भव्य रूपमा सम्पन्न भएका छन्। महासंघले समुद्री सतहबाट ३ हजार ४५० मिटर उचाईमा रहेको कुरी बजारमा जेठ १५ र १६ गते साधारणसभा सहित यी कार्यक्रमहरू आयोजना गरेको हो। साधारण सभामा ३१ प्रतिनिधिमध्ये २२ जना उपस्थित थिए।
साधारणसभाले नेतृत्व र जिम्मेवारीमा फेरबदल गर्दै केही पदाधिकारीहरूको मनोनयन र जिम्मेवारी समायोजन गरेको छ। महासंघको कार्यशैलीलाई व्यवस्थित बनाउन उमेश केसी चौलागाईंलाई जनरल म्यानेजर नियुक्त गरिएको जानकारी अध्यक्ष गोविन्द भट्टराईले दिएका छन्। साधारण सभाले प्रगति तथा आर्थिक प्रतिवेदन, आगामी कार्ययोजना, बजेट पारित गर्नुका साथै अडिटर नियुक्ति, पदाधिकारीहरूको विषयगत जिम्मेवारी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यसम्बन्धी प्रस्तावहरू सर्वसम्मत पारित गरेको छ।
‘हाई अल्टिच्युड टग अफ वार’ सगरमाथा दिवसकै अवसरमा नेपालकै सबैभन्दा उच्च स्थान (३,४५० मिटर) मा ऐतिहासिक टग अफ वार प्रतियोगिता सम्पन्न भएको छ। अल्पाईन स्पोर्ट्स फेडेरेसनको आयोजना र नेपाल टग अफ वार एसोसिएसनको प्राविधिक सहयोगमा संचालित खेलमा कोशी प्रदेश विजेता घोषणा भएको छ। प्रतियोगितामा कोशी, बागमती, कर्णाली–सुदूरपश्चिम र आयोजक दोलखाबाट कुल ४० खेलाडीहरू सहभागी थिए। विजेता टोलीहरूलाई आगामी दिनमा काठमाडौंमा विशेष समारोहको माध्यमबाट सम्मान गर्ने महासंघले जनाएको छ।






