आईसीसीले टी-२० विश्वकपका लागि ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने निर्णय गर्यो

आईसीसी बोर्ड बैठकले आगामी पुरुष टी–२० विश्वकपका लागि १६ टोली सहभागी हुने ग्लोबल क्वालिफायर आयोजना गर्ने प्रस्ताव स्वीकृत गरेको छ। यस नयाँ व्यवस्थाले क्षेत्रीय छनोट पार गरेर टोलीहरू सिधै विश्वकपमा पुग्ने पुरानो प्रावधानलाई परिवर्तन गर्नेछ। आईसीसी व्यवस्थापनलाई यस प्रतियोगिताको संरचना र छनोट प्रक्रियालाई अन्तिम रूप दिई आगामी बैठकमा पेश गर्न निर्देशन दिइएको छ। १८ जेठ, काठमाडौं।
आईसीसीको बोर्ड बैठकबाट आगामी आईसीसी पुरुष टी–२० विश्वकपका लागि ग्लोबल क्वालिफायर आयोजना गर्ने प्रस्ताव स्वीकृत भएको छ। आईसीसी व्यवस्थापनलाई १६ टोली सहभागी हुने ग्लोबल क्वालिफायरको प्रतियोगिता संरचना र छनोट प्रक्रिया अन्तिम रूप दिन निर्देशन दिइएको छ। तयार पारिएको प्रस्ताव आगामी आईसीसी बैठकमा सम्बन्धित समितिहरू समक्ष छलफल र स्वीकृतिका लागि पेश गरिनेछ।
यस निर्णयसँगै टी–२० विश्वकपमा स्थान बनाउन विभिन्न क्षेत्रीय छनोट प्रतियोगिताबाट आएका टोलीहरूका लागि छुट्टै ग्लोबल क्वालिफायर आयोजना गर्ने बाटो खुलेको छ। यसअघिका दुई संस्करणमा क्षेत्रीय छनोटबाट टोलीहरू सिधै छनोट भएका थिए। नेपालले सन् २०२६ का लागि एसिया-ईएपी छनोट पार गरेर विजेताका रूपमा विश्वकपमा स्थान बनाएको थियो। त्यसअघि सन् २०२४ का लागि पनि एसिया क्षेत्रीय छनोट पार गरेर नेपाल विश्वकपमा छनोट भएको थियो। पछिल्लोपटक सन् २०२२ को टी-२० विश्वकपका लागि भने ग्लोबल छनोट आयोजना गरिएको थियो। सन् २०२२ का लागि भएको छनोटमा नेपाल सेमिफाइनलमा पराजित भएर बाहिरिएको थियो।






