
हिमालय एयरलाइन्सले ४ जून २०२६ बाट काठमाडौं र चीनको सेन्जेन शहरबीच सिधा उडान सुरु गर्ने घोषणा गरेको छ। कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलमा हप्तामा दुई सिधा उडान सञ्चालन गर्नेछ। उडानहरू प्रत्येक मंगलबार र बिहीबार काठमाडौंबाट प्रस्थान गरी बुधबार र शुक्रबार फर्कने तालिकामा सञ्चालन गरिनेछ।
नेपालको निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले काठमाडौं-सेन्जेनबीच सिधा उडान सञ्चालन गर्ने योजना अघि बढाएको हो। यस उडानलाई नेपालको नागरिक उड्डयन इतिहासमा महत्वपूण्ण तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कका दृष्टिले ऐतिहासिक उपलब्धि मानिएको छ। कम्पनीले अपार मागका आधारमा काठमाडौं-सेन्जेन-काठमाडौं मार्गमा भविष्यमा थप उडान थप्ने योजना सहित हाल हप्तामा दुई उडान सञ्चालन गर्ने जनाएको छ।
हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ उडान सुरु हुनेमा उत्साह व्यक्त गर्दै भने, ‘हिमालय एयरलाइन्सले सधैं चीनका नयाँ गन्तव्यहरू खोज्दै नियमित उडान संचालन गर्दै आएको छ, त्यसैले नयाँ बजार पहिचानमा हाम्रो योगदान उल्लेखनीय छ।’ काठमाडौं-सेन्जेन-काठमाडौं मार्गमा सुरु भएको यस उडानले दुई राष्ट्रका नागरिकहरूबीच सम्बन्ध मजबुत बनाउने, पर्यटन र व्यापार प्रवर्द्धन गर्ने काममा मद्दत गर्ने बताएका छन्। यस रुटमा बुकिङ खुला भइसकेको छ।






