
नेपाल संसारकै दुर्लभ प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक सम्पदाले सम्पन्न राष्ट्र हो। विश्वको सर्वोच्च शिखर सगरमाथा, भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी, मिथिला सभ्यता केन्द्र जनकपुरधाम, हिमाली सौन्दर्य, जैविक विविधता, राष्ट्रिय निकुञ्ज, बहुभाषिक संस्कृति, साहसिक खेल, धार्मिक आस्था र गाउँको मौलिक जीवनशैलीले नेपाललाई विश्व पर्यटनको असाधारण गन्तव्य बनाउने क्षमता दिएका छन्। यति धेरै सम्भावना हुँदाहुँदै नेपालले पर्यटन क्षेत्रबाट अपेक्षित उपलब्धि भने हासिल गर्न सकेको छैन। सन् २०२५ मा नेपालमा साढे ११ लाख विदेशी पर्यटक भित्रँदा नेपाल जस्तै भूपरिवेष्ठित राष्ट्र लाओसले ४५ लाखभन्दा बढी पर्यटक भित्र्याइसकेको छ। नेपालसँग स्रोत होइन, तर दृष्टिकोण, संरचना, रणनीति र प्रभावकारी कार्यान्वयनको अभाव छ।
आज विश्वका धेरै देशले पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधार बनाएका छन्। कतिपय देशको विदेशी मुद्रा आम्दानी, रोजगारी, पूर्वाधार विकास र अन्तर्राष्ट्रिय पहिचानको केन्द्र नै पर्यटन बनेको छ। नेपालमा पनि अब पर्यटनलाई केवल मनोरञ्जन वा घुमफिरको क्षेत्रका रूपमा होइन, राष्ट्रिय समृद्धिको प्रमुख उद्योगका रूपमा स्थापित गर्ने आवश्यकता छ। यदि नेपालले सन् २०४० सम्म ६३ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य हासिल गर्न चाहन्छ भने अब सामान्य सुधारले मात्र पुग्दैन। देशले पर्यटन क्षेत्रमा संरचनागत परिवर्तन, दीर्घकालीन रणनीति, आधुनिक सोच र परिणाममुखी कार्यशैली अपनाउनैपर्छ।
लक्ष्य र सम्भावना हेर्दा, नेपालले आगामी १५ वर्षमा योजनाबद्ध ढंगले पर्यटन क्षेत्र विस्तार गर्न सके ६३ लाख पर्यटक भित्र्याउने लक्ष्य असम्भव छैन। यदि आगामी वर्षहरूमा नेपालले वार्षिक रूपमा औसत १५ प्रतिशत दरले पर्यटक वृद्धि गर्न सक्यो भने सन् २०३२ सम्म करिब ३० लाख विदेशी पर्यटक भित्र्याउन सकिन्छ। त्यसपछि २०३२ देखि २०४० सम्म प्रत्येक वर्ष १० प्रतिशत वृद्धिदर कायम राख्न सकियो भने ६३ लाख पर्यटक भित्र्याउने लक्ष्य सफल बनाउन सकिन्छ। यो लक्ष्य केवल पर्यटक संख्या बढाउने योजना मात्रै होइन, नेपालको अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउने राष्ट्रिय अभियान पनि हो।






