
फाइल तस्वीर समाचारको सारांश। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिको तथ्य माग गरेपछि १९ जेठको प्रतिनिधिसभा बैठक बस्न ढिलाइ भएको छ। विपक्षी दलहरूको अडान छ कि बिना तथ्य बोलेको भए माफी माग्नुपर्नेछ, तर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी सहमत नहुँदा बैठक प्रभावित भएको हो।
आज दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक साढे २ बजेसम्म सुरु हुन सकेको छैन। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य माग गर्दै आएका छन्। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यसमा तयार भएका छैनन्।
आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ। साथै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। आजबाट नै राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने तयारी छ। तर, सभाको बैठक भने समयमै सुरु हुन सकेको छैन।






