
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभा नियमावली अनुसार प्रधानमन्त्री बालेन शाहले संसद्मा हाजिरी गरे वा नगरेको विषयमा प्रश्न उठाएका छन्। उनले संसद् बैठकमा हाजिर नभए प्रधानमन्त्रीको सांसद पद र प्रधानमन्त्री पद स्वतः रद्द हुने दाबी समेत गरेका छन्। साम्पाङले नेपालले भारतको जमिन मिचेको ठाउँबारे स्पष्ट गर्दै गल्ती भए प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग गरे।
१९ जेठ, काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा प्रधानमन्त्री बालेन शाहको हाजिरीको माग गरेका छन्। प्रतिनिधिसभा नियमावलीको नियम ४ अनुसार सभाको बैठकमा आसन ग्रहण गर्नुअघि प्रत्येक सदस्यले बैठक कक्ष बाहिर रहेको उपकक्षमा राखिएको हाजिरी पुस्तिका वा विद्युतीय उपस्थिति उपकरणमा उपस्थिती जनाउनुपर्ने व्यवस्था रहेको छ। सचिवालयले बैठकमा सदस्यको उपस्थिती जानकारी विद्युतीय माध्यमबाट सार्वजनिक गर्न सक्छ।
नियमावलीको सोही नियम आधार बनाएर साम्पाङले प्रधानमन्त्री बालेनको हाजिरी खोजेका हुन्। ‘प्रधानमन्त्रीज्यू यहाँ आउँदा हाजिर गर्नुभएको छ कि छैन?’ साम्पाङले सोधे, ‘यदि उहाँले हाजिर गर्नुभएको छैन भने उहाँ प्रतिनिधिसभा सदस्य होइन भन्नुपर्ने हुन्छ।’ सदस्य नभए प्रधानमन्त्री पद स्वतः रद्द हुने उनको तर्क छ। साथै, प्रधानमन्त्रीले नेपालले भारतको जमिन कहाँ कहाँ मिचेको हो भन्नुपर्ने र गल्ती भए माफी माग्नुपर्ने माग पनि गरेका छन्।






