Skip to main content

बुटवलको सुनचाँदी पसलमा चोरीको घटना

समाचार सारांश बुटवलको अमरपथस्थित तिनाउ सुनचाँदी पसलबाट आइतबार राति करिब ८० तोला सुनका गहना चोरी भएको छ। पसलको सीसीटीभी क्यामेरा बिग्रेको र सञ्चालक पोखरा गएको समयमा चोरी हुनु शंकास्पद देखिएको प्रहरीले जनाएको छ। चोरले ५० फरक-फरक चाबीहरू प्रयोग गरी पसलको लकर खोल्न सफल भई सुन चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ। १९ जेठ, बुटवल। बुटवलको मुख्य व्यापारिक केन्द्र अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा चोरी भएको छ। पसलबाट करिब ८० तोला बराबरको सुनका गहना र सुन चोरी भएको पसलका सञ्चालक दीपक सेन्चुरीले इलाका प्रहरी कार्यालय बुटवललाई जानकारी गराएका छन्। ८० तोला सुनको अहिलेको बजार मूल्य करिब साढे २ करोड रुपैयाँसम्म रहेको छ। रातको समयमा पसलको च्यानल गेटको ताला तोडेर चोर पसलभित्र प्रवेश गरेको पाइएको छ। ५० फरक-फरक चाबी प्रयोग गरी लकर खोलेर सुनका गरगहनाहरु चोरी गरेको प्रहरीले जनाएको छ। डीएसपी निशान्त श्रीवास्तवले प्रारम्भिक अनुसन्धानमा यसबारे जानकारी दिएका छन्। पसल सञ्चालक दीपक सेन्चुरी पोखरा गएको बेला पसलको CCTV क्यामरा बिग्रिएको र चोरी भएकोले घटनामा शंका देखिएको डीएसपी श्रीवास्तवले बताए। चोरी आइतबार राति भए पनि दीपक सेन्चुरी सोमबार साँझ बुटवल फर्केर प्रहरीलाई घटनाको जानकारी गराएका थिए। बुटवल ४, अमरपथमा करिब ४० वर्षदेखि सञ्चालन हुँदै आएको तिनाउ सुनचाँदी पसल इलाका प्रहरी कार्यालय बुटवल र अमरपथ प्रहरी बीटको नजिकै अवस्थित छ। पसलमा एकजना आफन्त र एकजना कामदार गरी दुई जना कर्मचारी थिए। प्रारम्भिक अनुसन्धानले पसलको CCTV क्यामरा बिग्रेको समयमा चोरी भएको र क्यामरा बिग्रिएको जानकारी दिएका व्यक्तिको घटनामा संलग्नता हुन सक्ने देखिएको छ। प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरी सकेसम्म छिटो चोरलाई पत्ता लगाउने लक्ष्य राखेको डीएसपी श्रीवास्तवले बताए। प्रमुख व्यापारिक केन्द्रमा चोरी भएपछि सुनचाँदी व्यवसायीहरू चिन्तित बनेका छन्, सुनचाँदी व्यवसायी संघ बुटवलका अध्यक्ष गकुल विश्वकर्माले बताए। उहाँले भने, “प्रहरी प्रशासनले छिटोभन्दा छिटो घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्नुपर्छ।”