
नवलपरासीको गैँडाकोटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा १९ जेठमा एक बालक बेपत्ता भएका छन् भने अर्का एकलाई उद्धार गरिएको छ। नदी किनारमा भेटिएको पहिरनका आधारमा ती बालकहरू चितवनको नारायणघाटस्थित बालकुमारी कन्या माध्यमिक विद्यालयका विद्यार्थी हुन सक्ने अनुमान छ। इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख लक्ष्मण गिरीका अनुसार बेपत्ता बालकको खोजी कार्य जारी छ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा एक बालक डुबेर बेपत्ता भएका छन्। इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीले नदीमा पौडी खेल्ने क्रममा आज एक बालक बेपत्ता भएको जानकारी दिनुभयो। ‘नारायणी नदीमा दुईजना पौडी खेल्न गएका थिए, जस मध्ये एक जना बेपत्ता भएका छन् भने अर्का एकजनालाई उद्धार गरी अस्पताल लगिएको छ,’ उहाँले भन्नुभयो, ‘बेपत्ता भएका बालकको खोजी कार्य जारी छ।’ बेपत्ता भएका र उद्धार गरी अस्पताल पठाइएको दुवै बालकको परिचय अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। नदीमा पौडी खेल्न जानुअघि किनारमा राखिएको पोशाकका आधारमा ती बालकहरू चितवनको नारायणघाटस्थित बालकुमारी कन्या माध्यमिक विद्यालयका विद्यार्थी हुन सक्ने अनुमान गरिएको छ।






