
१९ जेठ, काठमाडौं । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले बुटवल उपमहानगरपालिकालाई सडकमा रहेका गाईगोरुलाई गैरकानुनी तथा निर्ममतापूर्ण ढंगले कुटपिट नगर्न निर्देशन दिएको छ। निर्देशनालयले २०८३ असार १८ गते उपमहानगरपालिकालाई पत्र पठाएर यस्तो निर्देशन दिएको हो। पत्रमा नगर प्रमुखको निर्देशनमा नगर कर्मचारी र नगर प्रहरीले सडकका गाईगोरुलाई कुटपिट गरेको घटना सर्वोच्च अदालतको २०७६ वैशाख ८ गतेको परमादेशविपरीत रहेको उल्लेख छ। स्नेहा केयरकी अध्यक्ष स्नेहा श्रेष्ठले केही दिनअघि बुटवलमा भएको घटनाबारे उजुरी दर्ता गराउँदै निर्देशनालयमा निवेदन दिएकी थिइन्। निवेदनमा नगर प्रमुखको सक्रियतामा जानीजानी गाईगोरुमाथि कुटपिट गरिएको आरोप लगाइएको छ।
सर्वोच्च अदालतले २०७६ वैशाख ८ गते दिएको परमादेशमा गाईलाई राष्ट्रिय जनावरका रूपमा संरक्षण गर्नुपर्ने, बेवारिसे गाईगोरुको उचित व्यवस्थापन गर्नुपर्ने तथा कुटपिट वा हत्या जस्ता कार्यमा संलग्न पदाधिकारी र कर्मचारीमाथि कानुनी कारबाही गर्नुपर्ने व्यवस्था गरेको छ। अदालतको फैसलामा गाईगोरुको हत्या, अकाल मृत्यु वा संरक्षणको जिम्मेवारीमा रहेका व्यक्तिको नियत, हेलचेक्र्याइँ, लापरबाही वा उपेक्षाका कारण क्षति पुगे कानुनबमोजिम कारबाही हुन सक्ने उल्लेख छ। सोही आदेश कार्यान्वयनका लागि निर्देशनालयले बुटवल उपमहानगरपालिकालाई यस्ता गतिविधि तत्काल रोक्न र अदालतको आदेश पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो। पत्रको बोधार्थ नगर प्रहरीलाई समेत पठाइएको छ। नेपालको संविधानले गाईलाई राष्ट्रिय जनावरको मान्यता दिएको छ। सर्वोच्च अदालतले स्थानीय तहलाई पशु व्यवस्थापन, संरक्षण केन्द्र स्थापना, पशु बीमा तथा वैज्ञानिक गोचर व्यवस्थापनका उपाय अवलम्बन गर्नसमेत निर्देशन दिएको थियो।






