Skip to main content

धवल शमशेरलाई राप्रपामा फिर्ता आउन अध्यक्ष लिङ्देनको आग्रह

१९ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी छाडेर नयाँ पार्टी गठन गर्ने तयारीमा रहेका धवल शमशेर राणालाई आफ्नो निर्णय फिर्ता लिन आग्रह गरेका छन्। धवल शमशेरको नेतृत्वमा भएपनि राप्रपाका असन्तुष्ट नेताहरूको भेलाले मलमास सकिएपछि नयाँ दल गठन गर्ने निर्णय गरेलगत्तै लिङ्देनले उनीहरूलाई पार्टीमा फर्किन आग्रह गरेका हुन्।
‘म महामन्त्री धवल शमशेर राणालाई पार्टीका पूर्वअध्यक्षहरूको आह्वान, नेता, कार्यकर्ता र आम शुभेच्छुकहरूको भावना र सम्मान गर्दै आफ्नो निर्णय फिर्ता लिन र आगामी महाधिवेशनको प्रक्रियामा जोडिन अनुरोध गर्दछु,’ लिङ्देनले सोमबार जारी गरेको विज्ञप्तिमा भनेका छन्।
राप्रपाका महामन्त्री राणाले जेठ १७ गते पार्टी छोडेको र नयाँ अभियान सुरु गरेको जानकारी दिनुभएको थियो।