कक्रोच पार्टीका संस्थापक दीपके भारत फर्केर आन्दोलन गर्ने, सोनाम वाङचुक पनि सहभागी हुने

१९ जेठ, काठमाडौं । भारतीय कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेले आन्दोलन गर्न भारत फर्कने घोषणा गरेका छन् । उनीसँगै रोमन म्यागासेसे पुरस्कार विजेता सोनाम वाङचुकले पनि दीपकेको आन्दोलनमा सहभागी हुने भएका छन् । वाङचुकले मंगलबार दीपकेको आन्दोलनमा सहभागी हुने घोषणा गरेका छन् । उनी हाल भारतको लद्दाखमा रहेका छन् र शिक्षा तथा पर्यटनका अभियन्ताका रूपमा काम गरिरहेका छन् । पछिल्लो समय लद्दाखमा भएको जेनजी आन्दोलनमा उनको महत्वपूर्ण भूमिका रहेको छ ।
दीपकेले भारत पुगेर आगामी शनिबार शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै दिल्लीको जन्तर मंतरमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने तयारी रहेको बताएका छन् । हाल दीपके अमेरिका मा छन् र बोस्टन युनिभर्सिटीमा आफ्नो स्नातक शिक्षा पूरा गरिरहेका छन् । उनका आन्दोलनको घोषणा पछि वाङचुकले शुक्रबारसम्म सरकारले आवश्यक परिवर्तन नगरेमा शनिबार सीजेपीका कार्यकर्तासँग आन्दोलनमा सहभागी हुने बताएका छन् । ‘यदि काम यति गलत छ भने कुनै पनि स्वाभिमानी मन्त्रीले राजीनामा दिनुपर्ने थियो । लाखौं युवाको जीवन र भारतको भविष्यमाथि पर्ने असरको कुरा त छाडौं,’ उनले एक्समा उल्लेख गरेका छन् ।
भारतमा अहिले नीट यूजिए परीक्षाको पेपर लिक प्रकरणले पुरै देशलाई हल्लाएको छ । यसै प्रकरणका कारण विपक्षीहरूले शिक्षामन्त्रीको राजीनामा माग गरिरहेका छन् । आन्दोलनको आह्वान गर्दै दीपकेले नीटका २४ लाख विद्यार्थीसहित करोडौँ विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गरिएको बताएका छन् ।






