इरानका पूर्व सर्वोच्च नेता खामेनीको तीन महिनापछि औपचारिक अन्त्येष्टिको तयारी शुरु

अमेरिका र इजरायलको संयुक्त आक्रमणमा निधन भएका इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको मृत्युपछि तीन महिनापछि औपचारिक अन्तिम संस्कारको तयारी थालिएको छ। तेहरान, कोम र मशहदमा आयोजना गरिने शोक यात्रा र अन्त्येष्टि समारोहमा करिब २ करोड मानिस सहभागी हुने अपेक्षा गरिएको छ। खामेनीको निधनपछि उनका छोरा आयातोल्लाह मोज्ताबा खामेनी नयाँ सर्वोच्च नेता चुनिएका भए पनि उनी अहिलेसम्म सार्वजनिक रूपमा देखिएका छैनन्। २० जेठ, काठमाडौं।
गत फेब्रुअरी २८ मा निधन भएको खामेनीको अन्त्येष्टि सामान्यतया मृत्युको केही दिनभित्रै गरिनुपर्ने भए पनि इरान सरकारले यसलाई अनिश्चितकालका लागि स्थगित गरेको थियो। मार्च महिनाको सुरुवातमा अधिकारीहरूले भनेका थिए कि देशको गम्भीर अवस्था तथा ठूलो जनसागर व्यवस्थापनका कारण सुरक्षा र प्राविधिक चुनौतीहरूको कारणले औपचारिक अन्त्येष्टि ढिलाइ गरिएको हो। इरानी सरकारी मिडियाले जनाएको छ कि यो औपचारिक अन्त्येष्टि जून महिनाको मध्यतिर हुन सक्नेछ, यद्यपि निश्चित मिति र समय अझै सार्वजनिक गरिएको छैन।
तेहरानका उपमेयर मोहम्मद अमिन ताभाकोली जादेहले सरकारी सञ्चारमाध्यमसँग जानकारी दिँदै भने कि शवयात्रा सहितको ‘सुपर्द–ए–खाक’ (अन्त्येष्टि) गरिनेछ र तयारी विभिन्न शहरहरूमा जारी रहेको छ। उनले मंगलबार बताए, अन्त्येष्टि कार्यक्रम शोक महिनाको सुरुवात अर्थात महुर्रममा आयोजना गरिनेछ। परम्परागत पात्रो अनुसार यो कार्यक्रम मध्य जूनमा पर्न सक्छ। खामेनीको शोक यात्रा राजधानी तेहरान, प्रमुख धार्मिक केन्द्र कोम र जन्मस्थल मशहदमा आयोजना गरिनेछ।
इस्लामिक परम्पराअनुसार, उनको पार्थिव शरीर दफन मशहदस्थित प्रमुख धार्मिक केन्द्र इमाम रेजा दरगाहमा गरिनेछ। यी तीनै शहरमा विशाल सार्वजनिक सभाहरू र प्रार्थना कार्यक्रम हुनेछन्। अन्त्येष्टिको सबैभन्दा ठूलो कार्यक्रम राजधानी तेहरानमा हुनेछ, जहाँ मुख्य समारोह कम्तीमा २४ घण्टासम्म निरन्तर चल्ने बताइएको छ। नगरपालिका अधिकारीहरूले अनुमान गरेका छन् कि पूर्व सर्वोच्च नेताका रूपमा खामेनीलाई अन्तिम श्रद्धाञ्जली दिन तेहरानमा करिब २ करोड मानिसहरू भेला हुन सक्छन्। यति ठूलो भीडको व्यवस्थापन, आवास र सुरक्षाका लागि व्यापक तयारी भइरहेको छ। खामेनीको ८६ वर्षको उमेरमा मृत्यु हुनुले इरानको एउटा युगको समाप्ति गरेको मानिन्छ।






