
सरकारले नेपालमा मोटरसाइकल उत्पादन बढाउनका लागि पार्टपूर्जा आयातमा लाग्ने भन्सार दर १० प्रतिशत बिन्दुले घटाएको छ। नयाँ नियम अनुसार २०० देखि २५० सीसीसम्मका मोटरसाइकल पार्टपूर्जामा भन्सार दर ३० प्रतिशत कायम गरिएको छ। साथै, २५० देखि ५०० सीसीसम्मका पार्टपूर्जा आयातमा लाग्ने भन्सार १० प्रतिशतले बढी गरी ८० प्रतिशत पुर्याइएको छ।
२० जेठ, काठमाडौं । सरकारले नेपालमा पूर्ण वस्तु उत्पादनका लागि पार्टपूर्जा आयातमा लाग्ने भन्सार दरमा समायोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत यो नयाँ व्यवस्था लागू गरिएको हो। पछिल्लो बजेट सार्वजनिक भएको भोलिपल्ट अर्थात् जेठ १६ देखि लागू गरिएको नयाँ भन्सार दरअनुसार नेपालमै तयारी हुने मोटरसाइकलका लागि पार्टपूर्जा आयातमा लाग्ने करदरमा १० प्रतिशत बिन्दुको कटौती गरिएको छ।
२०० देखि २५० सीसीसम्मका पार्टपूर्जा आयातमा चालु आर्थिक वर्षमा ४० प्रतिशत भन्सार लाग्नेमा, आगामी आर्थिक वर्षदेखि ३० प्रतिशत कायम गरिएको छ। तर, २५० देखि ४०० सीसी क्षमताका पार्टपूर्जा आयातमा भन्सार १० प्रतिशतले वृद्धि गर्दै ८० प्रतिशत पुर्याइएको छ। यसअघि ७० प्रतिशत लाग्ने ती पार्टपूर्जा अब ८० प्रतिशत भन्सारमा आउँछन्। त्यस्तै ४०० देखि ५०० सीसी क्षमताका बाइक पार्टपूर्जामा पनि भन्सार दर बढाएर ८० प्रतिशत कायम गरिएको छ।
पोयटपूर्जा आयात गरी अन्तिम वस्तु उत्पादन गर्ने कम्पनीहरूमा रोयल इन्फिल्ड, होन्डा, यामाहा, हिरो, टीभीएस र बजाज रहेका छन्। यी कम्पनीहरूले विदेशी मुलुकबाट पार्टपूर्जा आयात गरी नेपालमै बाइक एसेम्बल गर्दै आएका छन् र एसेम्बल्ड प्लान्टहरू स्थापना गरी सञ्चालनमा ल्याएका छन्।






