Skip to main content

राष्ट्रपति पौडेल: खेलमा भविष्यको भावना जागृत गर्नुपर्छ

२० जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट आपसी मित्रता, भाइचारा र सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय एकताको भावना विकास हुने बताएका छन्। उनले खेलका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा पनि महत्वपूर्ण योगदान पुग्ने बताए। राष्ट्रिय खेलकुद परिषदद्वारा बुधबार आयोजित १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अहिलेको युगमा खेलकुद केवल प्रतिस्पर्धा, पेसा, प्रख्याती र पहिचानका लागि मात्रै सीमित नभएको बताएका छन्।

‘यो व्यक्तिको सर्वाङ्गिण विकासको सशक्त माध्यम हो। अनि अनुशासन, सहकार्य नेतृत्व, आत्मविश्वास र राष्ट्रिय एकताको जग र आधार पनि हो’, उनले भने। राष्ट्रपति पौडेलले नेपालमा खेलप्रतिको क्रेज बढ्दैगएको पनि बताए। यस्तो बेला राज्यले ‘खेल प्रतियोगितामा मेरो भविष्य सुरक्षित छ’ भन्ने भावना जागृत गर्नुपर्नेमा जोड दिए।

‘विद्यालयतहदेखि नै खेल र शिक्षासँगको अन्तरसम्बन्ध र महत्वलाई एकसाथ अघि बढाउँदै खेल संस्कृतिको विकास र विस्तारका लागि यस्ता प्रतियोगितालाई संघ, प्रदेश र स्थानीयस्तरमा सञ्चालन गर्न कञ्जुस्याई गर्न हुँदैन’, उनले भने।