
जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ निर्वाचन प्रक्रिया अघि बढेको छ। संघका अध्यक्ष भुवनसिंह गुरूङको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दुई तिहाइ पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका थिए। सल्लाहकारहरूको नेतृत्वमा गठित प्रबन्ध समितिले आगामी २४ जेठमा संघको विशेष साधारणसभा र नयाँ कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको छ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा दुई तिहाइ पदाधिकारीहरूले सामूहिक रुपमा राजीनामा दिएपछि नयाँ निर्वाचन प्रक्रिया अघि बढाइएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले अध्यक्ष भुवनसिंह गुरूङ नेतृत्वको कार्यसमितिलाई विघटन गर्ने निर्देशन गरेसँगै नयाँ कार्यसमितिको निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको हो। आज आयोजित पत्रकार सम्मेलनमा प्रबन्ध समितिले निर्वाचन प्रक्रिया अघि बढेको जानकारी गराएको छ।
संघको विधानको दफा २६ (४) (ख) बमोजिम सल्लाहकारहरूको नेतृत्वमा प्रबन्ध समिति गठन गरिएको थियो। उक्त प्रबन्ध समितिले जेठ २४ गते संघको विशेष साधारणसभासहित निर्वाचन प्रक्रिया अघि बढाएको जनाएको छ। संघका निवर्तमान अध्यक्ष तथा प्रबन्ध समिति सदस्य राजेन्द्र भण्डारीले संघका दुई तिहाइ पदाधिकारीहरूको सामूहिक राजीनापछि विधान बमोजिम प्रबन्ध समिति गठन गरिएको बताउनुभएको छ।
हाल निर्वाचनका लागि प्रतिनिधि संकलन कार्य जारी रहेको छ र विशेष परिस्थितिमा हुन लागेको निर्वाचनमा सहभागी भएर नयाँ नेतृत्व चयन गर्न व्यवसायीहरूलाई भण्डारीले अनुरोध गर्नुभएको छ। प्रबन्ध समितिले वर्तमान परिस्थितिमा सम्पूर्ण व्यवसायीलाई लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन आग्रह गर्दै संघको स्थायित्व, संस्थागत विकास र सक्षम नेतृत्व निर्माणमा योगदान दिन आह्वान गरेको छ।






