Skip to main content

बेसारमा पाइने करक्युमिनको विशेषता र स्वास्थ्य लाभ

बेसारमा पाइने सक्रिय जैविक तत्व करक्युमिनले रक्तनलीहरूको कार्यक्षमता सुधार गरी मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ। आयुर्वेदमा बेसारलाई मात्र मसला नभई प्राकृतिक औषधीय गुणले भरिपूर्ण उपचारका रूपमा समेत मानिन्छ। नेपाल र दक्षिण एसियाली मुलुकहरूमा शताब्दीयौँदेखि घाउ निको पार्ने, रुघाखोकी कम गर्ने, पाचन सुधार गर्ने तथा शरीरलाई स्वस्थ राख्ने उद्देश्यले बेसारको प्रयोग हुँदै आएको छ। यसको मुख्य कारण बेसारमा पाइने सक्रिय जैविक तत्व करक्युमिन हो। करक्युमिनले बेसारलाई पहेँलो रङ दिने गर्दछ। वैज्ञानिक अनुसन्धानहरूले यसमा शक्तिशाली एन्टिइन्फ्लामेटरी, एन्टिअक्सिडेन्ट, एन्टिमाइक्रोबियल साथै रोग प्रतिरोधात्मक क्षमता सन्तुलित गर्ने गुण रहेको देखाएका छन्। पछिल्ला वर्षहरूमा करक्युमिनमाथि विश्वभर हजारौँ अध्ययन भएका छन्, जसले यसलाई प्राकृतिक स्वास्थ्य प्रवद्र्धक तत्वको रूपमा स्थापित गरेका छन्।

करक्युमिनले मुटु र रक्तनलीको स्वास्थ्य जोगाउन सकारात्मक भूमिका खेल्ने देखिएका छन्। यसले रक्तनलीको भित्री सतह ‘एन्डोथेलियम’को कार्यक्षमता सुधार गर्न मद्दत गर्दछ। एन्डोथेलियम स्वस्थ रहँदा रक्तसञ्चार सहज हुन्छ र उच्च रक्तचाप, हृदयघात तथा स्ट्रोकको जोखिम कम हुन सक्छ। यसले धमनीमा बोसो तथा प्लाक जम्ने प्रक्रियालाई सुस्त बनाउन मद्दत गर्ने विभिन्न अनुसन्धानहरूले संकेत गरेका छन्। करक्युमिनले खराब कोलेस्ट्रोल (एलडीएल) को अक्सिडेसन कम गर्न सहयोग पुर्‍याउने भएकाले धमनीमा क्षति पुग्ने जोखिम पनि घट्न सक्छ। यद्यपि मुटु रोगको उपचारका लागि औषधिको विकल्पका रूपमा यसलाई लिनु हुँदैन।

करक्युमिनले शरीरमा प्रतिरक्षा कोशिकाहरूको गतिविधिलाई सन्तुलित गर्न मद्दत गरेको अध्ययनहरूले देखाएका छन्। यसले अत्यधिक सूजन नियन्त्रण गर्नुका साथै आवश्यक प्रतिरक्षा प्रतिक्रिया कायम राख्न सहयोग पुर्‍याउँछ। त्यसैले नियमित रूपमा सन्तुलित मात्रामा बेसार सेवन गर्दा शरीरको प्राकृतिक प्रतिरक्षा प्रणालीलाई सहयोग पुग्न सक्छ। विशेष गरी मौसम परिवर्तनको समयमा हुने सामान्य संक्रमणबाट बच्न स्वस्थ आहारमा बेसार समावेश गर्नु उपयोगी मानिन्छ।