
मोरङको उर्लाबारी नगरपालिकाले आगामी १ असारदेखि आइतबार पनि विद्यालय खोल्ने निर्णय गरेको छ। आइतबारका दिन विद्यालयहरूमा नियमित पठनपाठन नभई खेलकुद, सिर्जनात्मक गतिविधि र अतिरिक्त क्रियाकलाप मात्र सञ्चालन गराइनेछ। विद्यालय बन्द हुँदा बालबालिकामा डिजिटल सामग्रीको प्रयोग र नकारात्मक प्रभाव बढ्ने भएपछि यस्तो निर्णय गरिएको शाखा प्रमुख शालिग्राम काफ्लेले जानकारी दिए।
नगरपालिकाको कार्यपालिका बैठकले नगर क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई आइतबार पनि सञ्चालन गर्ने निर्णय गरेको हो। पठनपाठन नगरी अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने व्यवस्था समेत गरिएको छ। विद्यार्थीहरू विद्यालय बन्द हुँदा मोबाइल, टेलिभिजन र अन्य डिजिटल सामग्रीको प्रयोग बढिरहेको र त्यसले मानसिक रूपमा नकारात्मक प्रभाव पारिरहेको गुनासो आएपछि १९ जेठमा बसेको कार्यपालिका बैठकले आगामी १ असारदेखि आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गर्यो।
२२ चैत २०८२ मा बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक सत्र २०८३ देखि विद्यालयमा शनिबार र आइतबार गरी हप्तामा दुई दिन सार्वजनिक विदा घोषणा गर्ने निर्णय गरेको थियो। दुई दिने विदाका कारण विद्यार्थीहरूको शैक्षिक अध्ययन र अतिरिक्त गतिविधिमा कमी आएको गुनासो आएपछि अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न विद्यालय खोल्ने व्यवस्था गरिएको छ, नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख शालिग्राम काफ्लेले जानकारी दिए। आइतबार विद्यालयहरूमा नियमित पठनपाठन नभए पनि खेलकुद, सिर्जनात्मक गतिविधि, सांस्कृतिक कार्यक्रम, अतिरिक्त कक्षा तथा अन्य सह–शैक्षिक क्रियाकलाप सञ्चालन गरिने जानकारी नगरपालिकाले दिएको छ।






