Skip to main content

गण्डकी प्रदेशले रिले दौडमा नयाँ राष्ट्रिय कीर्तिमान सृजना गर्यो

सम्बन्धित खेलकुद समाचार अन्वेषणमा। १६औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड अन्तर्गत छात्र वर्गको ४ गुणा ४ सय मिटर रिले दौडमा गण्डकी प्रदेशले नयाँ जुनियर राष्ट्रिय कीर्तिमान स्थापना गर्यो। प्रतियोगितामा छात्र वर्गको ४ गुणा ४ सय मिटर रिले, ८ सय मिटर दौड र लङजम्पमा बागमती प्रदेशले स्वर्ण पदक जित्यो। सुदूरपश्चिम प्रदेशका खेलाडीहरूले लङजम्प र ज्याभ्लिन थ्रो दुवै छात्र तथा छात्रा वर्गमा स्वर्ण पदक हात पारे। २१ जेठ, काठमाडौं – गण्डकी प्रदेशले १६औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा बिहीबार छात्र वर्गको ४ गुणा ४ सय मिटर रिले एथलेटिक्समा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको छ। त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा अतित थापा, आर्यन राना मगर, अंकित रानाभाट तथा सुदिप भण्डारीको टोलीले निर्धारित दूरी ३ मिनेट २७.९ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान सेट गरेको हो। यसअघि यो कीर्तिमान ३ मिनेट ३०.९ सेकेन्डमा बागमती प्रदेशका प्रवीण राना मगर, हस्त सुनार, निरज शाह र सन्तबहादुर दराइको नाममा थियो, जुन पछिल्लो संस्करणमा स्थापित गरिएको थियो। यस पटक बागमती प्रदेशका सप्रेश अधिकारी, निरज शाह, हस्त सुनार र सचिन थिङले ३ मिनेट ३०.७ सेकेन्डमा दोस्रो स्थान हासिल गरे भने सुदूरपश्चिम प्रदेशका सुरेश चौधरी, चित्रबहादुर केसी, विराज सुनार र बरुणदत्त राना तेस्रो स्थानमा रहे।

छात्रा वर्गमा बागमती प्रदेशका सुरुची मोक्तान, अनिशा थारू, भगवती खड्का र शर्मिला विकले ४ मिनेट १८.१ सेकेन्डमा दूरी पार गर्दै प्रथम स्थान हासिल गरे। लुम्बिनीका अनुजा चौधरी, रोशनी कामी, करिश्मा खड्का र दुर्गा विकले द्वितीय स्थान प्राप्त गरे भने सुदूरपश्चिमका उषा चौधरी, बिजया चटौल, स्वस्तिका शाह र कमल जैशी तेस्रो स्थानमा रहे।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गरेको प्रतियोगितामा छात्र लङजम्पमा सुदूरपश्चिमका विक्रम नाथले ६.६० मिटर जम्प गर्दै प्रथम स्थान हासिल गरे। बागमतीका दिपेन्द्र गिरी र विशाल गुरुङ तेस्रो स्थानमा रहे। छात्रा लङजम्पमा बागमतीकी अनिशा थारूले ५.०८ मिटर जम्प गर्दै स्वर्ण पदक जितिन्। सुदूरपश्चिमकी उषा चौधरी द्वितीय र लुम्बिनीकी गरिमा चौधरी तेस्रो भइन्।

ज्याभ्लिन थ्रोमा सुदूरपश्चिमका लोकेश ऐरीले ५६.३२ मिटर थ्रो गर्दै स्वर्ण पदक पाए। लुम्बिनीका अमित थारुले रजत र कोशी प्रदेशका सोहेल मनसोलीले कांस्य पदक हात पारे। छात्रा ज्याभ्लिन थ्रोमा सुदूरपश्चिमकी पूजा साउदले ३५.४२ मिटर थ्रो गर्दै प्रथम स्थान हासिल गरिन्। कोशीकी उमिता राई दोस्रो र कर्णालीकी सरिता शाह तेस्रो स्थानमा रहे।

छात्र वर्गको ८ सय मिटर दौडमा बागमतीका हस्त सुनारले २ मिनेट ००.२ सेकेन्डमा दूरी पार गर्दै स्वर्ण पदक जिते। कर्णालीका सुमन सुनार दोस्रो र लुम्बिनीका सचिन कुर्मी तेस्रो स्थानमा रहन सफल भए। छात्रा वर्गमा बागमतीकी भगवती खड्काले २ मिनेट २२.१ सेकेन्डमा दौड पूरा गर्दै प्रथम स्थान हासिल गरिन्। सुदूरपश्चिमकी स्वस्तिका शाह द्वितीय र गण्डकी प्रदेशकी आस्मा अधिकारी तेस्रो स्थानमा रहिन्।