Skip to main content

काठमाडौं फनपार्कलाई म्याद नाघेका खाद्यवस्तु बिक्रीका कारण २ लाख ५ हजार रुपैयाँ जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा ६ वटा व्यावसायिक फर्महरूलाई कुल ३ लाख २६ हजार रुपैयाँ जरिवाना गरेको छ। म्याद नाघेका खाद्य सामग्री बिक्रीका लागि राखिएको पाइएको कारण भृकुटीमण्डपस्थित काठमाडौं फनपार्कलाई सबैभन्दा बढी २ लाख ५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

अनुगमनमा उपभोक्ताको हितविपरीत काम गर्ने ती फर्महरूलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही गरिएको हो। विभागका सूचना अधिकारी निर्माणकुमार कार्कीले फनपार्कमा ठूलो मात्रामा म्याद नाघेका खाद्यवस्तु बिक्री भइरहेको जानकारी दिएका छन्।

नयाँ बानेश्वरस्थित रेडोलेन्स नेपाललाई ५० हजार र इलाभेन इलाभेन ग्रुपलाई ५१ हजार रुपैयाँ जरिवाना गरिएको छ। यसका साथै काठमाडौं पञ्चकुमारीस्थित पूर्वेली सेकुवा कर्नरले उपभोक्तालाई बिल नदिई कारोबार गरेको फेला परेपछि १० हजार रुपैयाँ जरिवाना गरिएको छ। चाबहिलको मोबडिल्ज र बुद्धनगरको गणेश मोटर बाइक वर्कसपलाई जनही ५ हजार रुपैयाँ जरिवाना गरिएको छ।