
फाइल तस्वीर। समाचार सारांश सम्पादकीय समीक्षा पछि तयार। एक्सनएड नेपालको अध्ययनअनुसार अनौपचारिक क्षेत्रका ६६.२ प्रतिशत श्रमिकले पूरा ज्याला नपाएको पाइएको छ। नेपालको अनौपचारिक क्षेत्रमा काम गर्ने अधिकांश श्रमिकले पूरा ज्याला नपाउने गरेका छन् भन्ने अध्ययनले देखाएको छ। एक्सनएड नेपालले १३ जिल्लाका ३६१ श्रमिकहरूमा सर्वेक्षण गरेको थियो। जसमा अधिकांश श्रमिकले पूरा ज्याला नपाएको, लिखित सम्झौताको अभाव रहेको साथै महिला श्रमिक पुरुषभन्दा बढी शोषणमा पर्दै आएको तथ्य सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा सार्वजनिक गरिएको प्रतिवेदनअनुसार ज्याला ठगी गम्भीर र संरचनागत समस्या रहेको देखिएको छ।
अध्ययनमा सहभागीमध्ये ६६.२ प्रतिशत श्रमिकले आफूले पाउनुपर्ने पूरा ज्याला नै नपाएको बताएका छन् भने ७३.४ प्रतिशतले आंशिक भुक्तानी मात्र पाएको बताएका छन्। ९३.१ प्रतिशतसँग लिखित श्रम सम्झौता नभएको पाइएको छ। त्यसैगरी ८९.२ प्रतिशत श्रमिकले ज्याला सम्बन्धी समस्या भए तापनि औपचारिक उजुरी नगरेको देखिएको छ। २४.९ प्रतिशतले ढिलो भुक्तानी पाएको र १८ प्रतिशतले सहमति अनुसारभन्दा कम ज्याला पाएको उल्लेख गरिएको छ। अध्ययनले श्रम बजारमा लैङ्गिक विभेद पनि गम्भीर देखाएको छ।
पुरुषको तुलनामा महिला श्रमिकले औसतमा ३१.१ प्रतिशत कम ज्याला पाउने गरेको पाइन्छ। प्रतिवेदनअनुसार ठेकेदार र मुख्य रोजगारदाता श्रमिक शोषणका मुख्य केन्द्र भएका छन्। ५७.३ प्रतिशत श्रमिकले ठेकेदारमार्फतै ज्याला पाउने गरेका छन्। तर, ठेकेदारमार्फत काम गर्ने श्रमिकमध्ये केवल ६.९ प्रतिशतसँग मात्र लिखित सम्झौता रहेको तथ्यमा उल्लेख छ। विचौलियाबाट रोजगारी पाएका श्रमिकमा लिखित सम्झौताको दर शून्य रहेको अध्ययनले देखाएको छ।
प्रतिवेदनमाथि प्रतिक्रिया दिँदै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का उपमहासचिव नारायणनाथ लुइँटेलले अनौपचारिक श्रम क्षेत्रमा ज्याला ठगी व्यापक भएको बताएका छन्। एक्सनएड नेपालका कार्यक्रम, नीति तथा व्यवसाय विकास प्रमुख सरोज पोखरेलले भने, अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकसँग प्रमाण सङ्कलन गर्न बाधा र पहुँच सीमित हुनुले न्याय पाउन थप कठिनाइ हुने बताएका छन्। प्रतिवेदनले अनौपचारिक क्षेत्रका श्रमिक अधिकार संरक्षण, लिखित श्रम सम्झौताको अनिवार्यता तथा प्रभावकारी उजुरी संयन्त्र आवश्यक रहेको औँल्याएको छ।






