
वीरगन्ज निवासी सोनाली कायस्थ भारतबाट स्थलमार्गमार्फत् घरायसी सामान ल्याउँदा भन्सारमा गरिएको कडाइले खुसी छैनन्। यसअघिको १०० रुपैयाँसम्मको सामानलाई दिइएको छुटलाई ५०० पुर्याइए पनि त्यो अपुग हुने उनी ठान्छिन्। गत चैतमा नयाँ सरकार गठन भएकै लगत्तै भारतबाट मालसामान ल्याउँदा लगाइने भन्सारको नियम ‘कडाइका साथ’ लागु गरिएको विषयले सीमा वारपार दुवैतिर चर्को प्रतिक्रिया निम्ताएको थियो। तर त्यो नयाँ नियम थिएन। भन्सार विभागका अधिकारीहरूका अनुसार २०६० सालदेखि नै १०० रुपैयाँभन्दा धेरै मूल्यका वस्तुमा भन्सार लाग्थ्यो। त्यसको कार्यान्वयनले चर्को प्रतिक्रिया उब्जाएपछि यो बजेटमार्फत् सरकारले उक्त सीमालाई ५०० रुपैयाँ पुर्याएको छ। यो बाहेक बजेटले सुनजस्ता वस्तुको भन्सार दर पनि परिवर्तन गरिदिएको छ।
स्थलमार्गमा कडाइले निम्ताएको तरङ्ग हवाई तथा स्थलमार्गबाट विदेशबाट फर्किएका नेपाली यात्रुहरूका लागि महसुलमा छुट तथा अन्य व्यवस्थाबारे राजपत्रमा हालै सूचना प्रकाशित गरिएको छ। उक्त सूचनाअनुसार स्थलमार्गबाट सिमाना ओहोरदोहोर गर्ने व्यक्तिलाई “५०० रुपैयाँ मूल्यसम्मका निजी प्रयोगका वस्तु ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरेर महसुल नलिइ छाड्न सक्छन्।” भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौला भन्सारको नियम पहिलादेखि नै लागु हुँदै आएको बताउँछन्। “सरकारको नीतिअनुसार व्यक्तिगत उपभोगका लागि ल्याइएका त्यति मूल्यसम्मका सामानहरूमा भन्सार नलाग्ने हो। अघिल्लो सीमा साठी सालदेखि नै थियो। अहिले समयक्रममा उक्त सीमा केही बढाइएको हो,” बर्तौलाले भने।
यो नियमले नेपालका व्यापारीहरू खुसी छन् तर स्थानीय समुदाय भने अझै असन्तुष्ट रहेका पाइन्छन्। वीरगन्जकी बासिन्दा सोनाली कायस्थ ५०० रुपैयाँको सीमा अपुग हुने भन्दै कम्तीमा ५००० रुपैयाँसम्मको सीमा भए घरायसी किनमेलमा सहज हुने बताउँछिन्। “सीमा पारि अलि महँगो हुने भएकाले हामीले सीमा पारिबाट किनमेल गर्ने गरेका हौँ,” उनले भनिन्। खासगरी भान्साका सामग्रीहरू जस्तै चिनी, तेल, लसुनजस्ता वस्तु उतापट्टि कम मुल्यमा पाइने अनुभव उनको छ। महिनामा दश देखि पन्ध्र हजार रुपैयाँको सामान ल्याउने गरेको तर अहिले सीमानामा एकदम कडाइ भएको बताइन्। तर स्थानीय व्यापारीहरू भने भन्सारको उक्त कडाइलाई राम्रो मान्छन्। “घरेलु सामानहरू ल्याउँदा धेरै कडाइ भएको हामीले देखेका छैनौँ। तथापि बदनियत राखेर सामान ओसारपसार गर्नेहरूलाई नियन्त्रण गर्न यस्तो नियमन आवश्यक छ,” वीरगन्ज उद्योग वाणिज्य सङ्घका महासचिव शिवजी प्रसाद साह कलवारले भने।
बजेटले सुनको भन्सार दर दोब्बर बढाउँदै २० प्रतिशत पुर्याएको छ। तर ल्याउन पाउने सुनको परिमाणको हकमा भने पुरानै नियम यथावत् राखिएको छ। भन्सार महसुल ऐन २०८१ अनुसार काँचो सुनको हकमा पचास ग्रामसम्म २० प्रतिशत भन्सार अनि त्यसपछि थप पचास ग्रामसम्म थप तीन प्रतिशत शुल्क लाग्छ। गहनाको हकमा पुरुषले पच्चीस ग्राम अनि महिलाले पचास ग्रामसम्मको गहना ल्याउँदा कुनै महसुल लाग्दैन। सो परिमाणभन्दा थप पचास ग्रामसम्म सुनका गहनामा प्रचलित भन्सार महसुलका अतिरिक्त थप तीन प्रतिशत महसुल लाग्नेछ। तर सामान्य गहनाको आकार मात्र दिएर बनाइएका “बाला, बेरुवा औँठी, सिक्री”जस्ता वस्तुलाई गहनाको मान्यता नदिइने ऐनमा उल्लेख छ।
राजपत्रको सूचनाअनुसार विदेशबाट फर्किएका नेपाली यात्रुहरूले आफूले प्रयोग गरेको ट्याब्लेट वा डेस्कटप कम्प्युटर, घडी, क्यामरा, भिडिओ क्यामरा र मोबाइल फोन एक एकथान ल्याउँदा महसुल तिर्नु पर्दैन। “तर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गइ कम्तीमा ६ महिना लगातार काम गरी फर्केका नेपालीहरूले आफ्नो साथमा थप एक थान नयाँ मोबाइल फोन ल्याएमा त्यसबापत लाग्ने महसुल पूरै छुट हुनेछ।” यस वर्षको बजेटको आकार २१ खर्ब २४ अर्ब रुपैयाँ रहेको छ। त्यसमा कुल १५ खर्ब ८० अर्ब रुपैयाँको राजस्व परिचालन गर्ने सरकारको ‘महत्त्वाकाङ्क्षी’ भनिएको लक्ष्य रहेको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बताएका छन्। त्यसमध्ये भन्सारबाट मात्रै ६ खर्ब २८ अर्ब रुपैयाँ उठाउने सरकारको लक्ष्य छ। अघिल्लो बजेटमा भन्सारबाट ५ खर्ब ८८ अर्ब रुपैयाँ उठाउने लक्ष्य राखिएकोमा जेठको तेस्रो सातासम्म आइपुग्दा करिब ७६ प्रतिशत उठाइसकेको भन्सार विभागका अधिकारीहरूले बताएका छन्।






