Skip to main content

रुसविरुद्ध कडा प्रतिबन्ध र युक्रेनलाई थप सहायता दिने अमेरिकी विधेयक पारित

अमेरिकी संसद्को तल्लो सदनले रुसमाथिको प्रतिबन्ध कडा पार्ने र युक्रेनलाई थप सैन्य सहायता दिने विधेयक पारित गरेको छ। बिहीबारको मतदानमा यस विधेयकको पक्षमा २२६ र विपक्षमा १९५ मत परेका थिए। हाउस फरन अफेयर्स कमिटीका वरिष्ठ डेमोक्र्याट सदस्य ग्रेगरी मिक्सले यो विधेयक दर्ता गरेका हुन्।

विधेयकमा रूसी वस्तु तथा सेवाहरूमा भन्सार शुल्क कम्तीमा ५०० प्रतिशतसम्म बढाउने र वित्तीय संस्थामाथि थप प्रतिबन्ध लगाउने प्रावधान छ। यसका साथै, रुस र युक्रेनबीचको युद्धको अवस्थाबारे नियमित मूल्याङ्कन गर्ने व्यवस्था गरिएको छ। यसअनुसार, रुसले शान्ति सम्झौता पालना गरेको छ वा छैन, र शान्तिपूर्ण निकासका लागि कत्तिको इमानदारीका साथ वार्ता गरेको छ भनी जाँच गरिनेछ।

अर्थिक वर्ष २०२६ र २०२७ मा युक्रेनका लागि ३०० मिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता छुट्याउने व्यवस्था पनि गरिएको छ। यस विधेयकले रुसका अधिकारीहरू, वित्तीय संस्थाहरू, तेल तथा ग्यास क्षेत्र, कोइला र खानी उद्योगहरूमाथि थप प्रतिबन्ध लगाउने व्यवस्था पनि समावेश गरेको छ।