
काठमाडौं । सामाजिक अभियन्ता प्रदिप परियारको ‘सियोधागो’ पुस्तकको लोकार्पण बिहीबार साँझ काठमाडौंमा भएको छ। जातीय सवाललाई उठाउने दलित लाइभ्स म्याटरका अभियन्ता प्रदिप परियार समावेशी नेतृत्व, सहभागितामूलक सुशासन र उत्तरदायी समाज निर्माणका दक्ष रणनीतिकारका रूपमा परिचित छन्। उनी विश्व आर्थिक मञ्चका योङ ग्लोबल लिडर २०२० का रूपमा पनि काम गरिसकेका छन् र नेपालको युथ भिजन २०२५ निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।
प्रदीप परियारले सियोधागो पुस्तकमार्फत दक्षिण एसियाका करिब २६ करोड दलितले सदियौंदेखि भोग्दै आएको जातीय विभेद र त्यसविरुद्धको अदम्य सङ्घर्षलाई आफ्नो अनुभवसँग जोड्दै सामूहिक कथा बुनेका छन्। उनले भने, ‘यो कृति सीमांतकृत जीवनका अझ नबोलिएका सत्यहरूको दस्तावेज हो। आँसु, अन्याय र अपमानबीचबाट उठेका आशा र विद्रोहको स्वर हो।’
पुस्तकमा नेपालका दुर्गम गाउँदेखि विश्व मञ्चसम्मको यात्रामा देखेका र भोगेका यथार्थ, युवाहरूका जीवित अनुभूति, रुकुम सोती नरसंहार, बलात्कृत र हत्या गरिएका छोरीहरूको पीडा, हिरासतमा छोरा गुमाएका आमाहरूको अनन्त सङ्घर्ष समेटिएको छ। उनले थपे, ‘यो पुस्तक मात्र पीडाको कथा होइन, चेतनाको ज्वाला हो। अन्यायविरुद्धको उद्घोष हो।’






