Skip to main content

विश्वकपमा पहिलो पटक सबै २६ खेलाडी राष्ट्रिय गान कार्यक्रममा सहभागी हुने

फिफाले सन् २०२६ को विश्वकपका लागि खेलअघि राष्ट्रिय गान बज्दा टोलीका सबै २६ खेलाडी मैदानमा उपस्थित हुनुपर्ने नियम बनाएको छ। नयाँ व्यवस्थाअनुसार खेलाडी र म्याच अफिसियलहरू दर्शकतर्फ नफर्की सेन्टर सर्कल वरिपरि एकअर्कातर्फ फर्किएर उभिनेछन्। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले यो परिवर्तनले खेलाडी र समर्थक दुवैका लागि विशेष क्षण सिर्जना गर्ने बताउनुभयो। २२ जेठ, काठमाडौं।

फिफाले सन् २०२६ को विश्वकपका लागि खेलअघिको औपचारिक कार्यक्रममा ठूलो परिवर्तन गरेको छ। अब प्रत्येक खेलको टोलीमा रहेका सबै २६ खेलाडी राष्ट्रिय गान बज्ने क्रममा मैदानमा उपस्थित हुनेछन्। यसअघि राष्ट्रिय गानका बेला केवल सुरुआती ११ खेलाडी मात्र मैदानमा उभिन्थे भने बेन्चमा रहेका खेलाडीहरू प्रशिक्षक र अफिसियलसँग डगआउट नजिकै बस्ने गर्थे। तर अमेरिका, क्यानडा र मेक्सिकोमा हुने २०२६ विश्वकपदेखि भने टोलीमा रहेका सबै खेलाडी मैदानमा रहनेछन्।

नयाँ व्यवस्थाअनुसार खेलअघि सबै खेलाडी सेन्टर सर्कल वरिपरि भेला हुनेछन्। सुरुआती ११ सँगै वैकल्पिक खेलाडीहरू पनि राष्ट्रिय गान समारोहमा सहभागी हुनेछन्। फिफाले टोलीहरूको उभिने शैलीमा पनि परिवर्तन गरेको छ। अब खेलाडी र म्याच अफिसियलहरू दर्शकतर्फ फर्किने छैनन्। उनीहरू सेन्टर सर्कल वरिपरि एकअर्कातर्फ फर्किएर उभिनेछन्, जसले खेलअघि थप एकता, भावनात्मकता र विशेष माहोल सिर्जना गर्ने विश्वास फिफाको छ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले यो परिवर्तन खेलाडी र समर्थक दुवैको अनुभवलाई अझ विशेष बनाउने प्रयासको हिस्सा भएको बताए। उनले भने, ‘विश्वकप विस्तार हुँदै जाँदा हामी प्रतियोगिता अनुभव गर्ने तरिकामा पनि नयाँपन ल्याइरहेका छौं। राष्ट्रिय गानका बेला सबै खेलाडी र रेफ्रीहरू सेन्टर सर्कलमा एकअर्कातर्फ फर्किएर उभिँदा एकता, गर्व र भावनाको विशेष क्षण सिर्जना हुनेछ।’ इन्फान्टिनोका अनुसार विश्वकप प्रत्येक खेलाडी र समर्थकको प्रतियोगिता भएकाले नयाँ समारोहले त्यसैको प्रतिबिम्ब प्रस्तुत गर्नेछ।