पुटिनको समीक्षा – भारतसँग हाम्रो सम्बन्ध कमजोर हुँदैन, पाकिस्तान चीनको नियन्त्रणमा छैन

२२ जेठ, काठमाडौं । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले दक्षिण एसियाका दुई परमाणु सक्षम देश भारत र पाकिस्तानका विदेशी सम्बन्धबारे आफ्नो समीक्षा प्रस्तुत गरेका छन्। उनले भारतको अमेरिकासँगको साझेदारी जतिसुकै बढे पनि मस्कोलाईसँगको लामो समयदेखि कायम सम्बन्ध कमजोर नहुने दाबी गरेका छन्। भारत शीतयुद्धकालदेखि सोभियत संघको रणनीतिक र व्यावसायिक साझेदार हुँदै आएको छ। स्वतन्त्रता प्राप्ति पछि पनि भारतले रसियासँग सैन्य उपकरण र प्रविधि सम्बन्धी सहयोग निरन्तर गरिरहेको छ। पुटिनले यही सम्बन्धलाई आधार मानेर आफ्नो यो दाबी राखेका हुन्।
त्यसैगरी, पुटिनले पाकिस्तान र चीनबीचको सम्बन्धबारे पनि आफ्नो मत प्रकट गरेका छन्। उनले पाकिस्तान चीनको नियन्त्रणमा रहेको जस्तो लाग्दैन भनेका छन्। पाकिस्तान शीतयुद्धकालदेखि अमेरिकी निकट देश रहँदै आएको भए पनि पछिल्लो समय चीनसँग समेत ठूलो व्यापार, लगानी र रणनीतिक साझेदारी रहेको छ। अमेरिकासँगको सम्बन्ध पनि पाकिस्तानको पक्षबाट बिग्रिएको छैन। हालै इरान र अमेरिकाबीच जारी तनावमा पाकिस्तानले दुई देशबीच मध्यस्थता गर्ने भूमिका निर्वाह गरेको छ।
पुटिनले भारतलाई रसियासँगको सम्बन्धमा दबाब दिनु ‘बेकार’ भएको र यसले दुई देशको सम्बन्धमा परिवर्तन आउन नसक्ने बताए। रसिया युक्रेनसँग युद्धरत अवस्थामा रहेको बेला इन्धन खरिद सम्बन्धी विषयमा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि दबाब र ट्यारिफ लगाएको सन्दर्भमा पुटिनको यो वक्तव्य आएको बुझ्न सकिन्छ। आगामी सेप्टेम्बरमा भारतमा आयोजना हुने ब्रिक्स सम्मेलनमा पुटिन पनि सहभागी हुनेछन्। त्यसअघि उनले भारत र पाकिस्तानसँग सम्बन्धित आफ्नो धारणा सार्वजनिक गरेका छन्।






