Skip to main content

रास्वपा मधेशको वडा–पालिका अधिवेशनमा विवाद, केन्द्रमा उजुरी दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशका विभिन्न वडा र पालिकाहरूमा विधान विपरीत प्रतिनिधि चयन गरेपछि विवाद उत्पन्न भएको छ। विवाद बढेपछि अनुशासन आयोगको निर्देशनअनुसार सप्तरी र सिरहाका जिल्लाहरूमा वडा तथा पालिका अधिवेशन अनिश्चितकालका लागि रोकिएको छ। जनकपुर उपमहानगरपालिकामा निर्वाचन आयोगको निर्देशन विपरीत अधिवेशन गरेर नेतृत्व घोषणा भएपछि पार्टीभित्रको आन्तरिक विवाद अझ उग्र बनेको छ।

२२ जेठ, काठमाडौं। रास्वपा मधेशको वडा र पालिका अधिवेशनको क्रममा विवाद देखिएको छ। विधान विपरीत प्रतिनिधि र नेतृत्व चयन गरिएको भन्दै केन्द्रीय अनुशासन आयोगमा उजुरी परेका हुन्। तल्लो तहको अधिवेशनमा सबैभन्दा बढी उजुरी मधेशबाट आएको आयोगले जानकारी दिएको छ। पालिका र वडा तहमा नयाँ नेतृत्व चयन गर्दा विवाद हुँदा उजुरी परेपछि ती स्थानका अधिवेशनहरू रोक्न निर्वाचन समितिले निर्देशन दिएको छ।

उजुरीमाथि छानबिन र अन्तिम निर्णय हुन बाँकी रहेको जानकारी दिँदै आयोगका प्रमुख भुवन केसीले निर्वाचन स्थगन गर्न निर्देशन दिएका छन्। मधेशका ८ जिल्लामध्ये पाँच जिल्लामा विवाद देखिएको र विवाद भएका सबै स्थानका अधिवेशन रोक्न निर्देशन दिइएको निर्वाचन आयोगले जनाएको छ। सप्तरी र सिरहामा विवादित वडा र पालिका धेरै रहेका छन्। महोत्तरीको जलेश्वर, एकडारा, मतिहानी, मनरा शिस्वा, पिपरा लगायतका पालिकामा अधिवेशन खुल्न सकेको छैन।

धनुषामा जनकपुर उपमहानगरपालिकासहित जनकनन्दिनी, गणेशमान चारनाथ लगायतका पालिकामा विवाद भएपछि अधिवेशन रोकिएको छ। गणेशमान चारनाथ नगरपालिकाको नगर अधिवेशनमा देखिएको विवाद समाधान नभएकाले असन्तुष्ट कार्यकर्ताहरूले शुक्रबार जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा तालाबन्दी पनि गरेका छन्। पार्टी नेतृत्वले निर्वाचन आयोगको निर्देशन र आम कार्यकर्ताको भावना विपरीत विवादित समितिलाई आधिकारिकता दिन खोजेको असन्तुष्ट पक्षले आरोप लगाएको छ।