
झापाको दमक नगरपालिकामा २१ वर्षीया रमा तिवारीको हत्या आरोपमा प्रहरीले भारतीय नागरिक रमेशकुमार पण्डितलाई पक्राउ गरेको छ। लेनदेन विवादमा हत्या गरी शव रतुवा खोलाको पुलमुनि फालिएको र सीसी क्यामेरा फुटेजको सहयोगमा आरोपी पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ परेका पण्डितमाथि जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ।
२२ जेठ, विराटनगर। झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो। १३ जेठ मध्यरातमा भेटघाटपछि लेनदेन विवादमा तिवारीको हत्या गरेको आरोपमा प्रहरीले भारतको अररिया घर भई दमकमा बस्दै आएका ३४ वर्षीय रमेशकुमार पण्डितलाई पक्राउ गरेको हो। प्रहरीले पण्डितलाई बिहीबार दमक नगरपालिका-५ स्थित डेराबाट पक्राउ गरेको थियो। उनले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेपछि प्रहरीले शुक्रबार घटनाको विवरण सार्वजनिक गरेको हो।
पक्राउ परेका पण्डितमाथि जबरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको झापा प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक सुमन बानियाँले जानकारी दिए।
प्रहरीका अनुसार पण्डितले दमकमा टायल्स र मार्बल जडानको ठेक्कापट्टाको काम गर्दै आइरहेका थिए। अनुसन्धानका क्रममा उनी र मृतक तिवारीबीच घटना हुनुअघि भेटघाट भएको खुल्न आएको छ। आरोपीको डेरा नजिकै विवादपछि हत्या भएको प्रहरी स्रोतको दाबी छ।
मध्यरातमा हत्या, बिहान मन्दिरमा पूजा
प्रहरीका अनुसार घटना राति ११ बजे आसपासको समयमा भएको थियो। घटनास्थल र आरोपीको कोठा नजिकै छ। युवतीको हत्यापछि पण्डितले कोठाबाट बोरा ल्याएर शवलाई प्याक गरेका थिए। राति नै भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लोड गरेर दमक नगरपालिका–१० स्थित सेतुमारी क्षेत्रको पुल मुनि फालिदिएका थिए। मृतककी चप्पल भने घटनास्थल नजिकै फेला परेको थियो।
१३ जेठमा शव फालिएको थियो। १६ जेठमा रतुवा खोलाको पुल मुनि स्थानीयले देखेपछि प्रहरीले खबर पाएको थियो। अनुसन्धानकै क्रममा प्रहरीले ती युवकलाई सीसी क्यामेरा फुटेजको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका पण्डितले चिनजान पुरानै रहेको बताएका थिए। घटना भएको दिन उनीहरूको रातको भेट भेटिएको थियो।
प्रहरी स्रोतका अनुसार हत्या गरेर शव व्यवस्थापन गरी फर्किएपछि उनी निदाउन सकेनन्। १४ जेठ बिहान दमकस्थित पशुपतिमन्दिरमा पुगेर प्रायश्चित गर्दै पूजा गरेका थिए।
‘राति हल्ला हुँदा बदनाम हुने डरले हत्या गरेको देखिन्छ, शव व्यवस्थापनपछि भोलिपल्ट बिहानै मन्दिर पुगेर गल्ती भयो भन्दै क्षमायाचना गरेका रहेछन्,’ प्रहरी स्रोतले भने, ‘शव व्यवस्थापनमा भारतीय नम्बरको मोटरसाइकल प्रयोग गरिएको छ।’
मृतकको पहिचान खुलाएपछि आफन्तहरूले प्रेमीले बोलाएपछि १३ जेठ राति भेट्न गई हत्या भएको किशोरी बताएको बताएका थिए। सुरुमा प्रहरीले उनको प्रेमीमाथि शंका गरेको थियो। तर, उनको संलग्नताको प्रमाण नदेखिएपछि अनुसन्धान प्रतिवद्धता फराकिलो बनाइएको थियो। त्यसपछि प्रहरी पण्डितसम्म पुगेको थियो।
घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय दमकका डीएसपी हरिबहादुर बस्नेतको टिमले गरेको थियो।






