Skip to main content

राजदूत नियुक्तिका लागि करिब तीन हजार आवेदन प्राप्त

२२ जेठ, काठमाडौं। सरकारले पहिलो पटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्ति प्रक्रिया अघि बढाएपछि झण्डै तीन हजारले आवेदन दिएका छन्। परराष्ट्र मन्त्रालयले जेठ १४ देखि २२ गतेसम्म आवेदन आह्वान गरेको थियो। उक्त अवधिमा अनलाइन, इमेल तथा भौतिक रूपमा ठूलो संख्यामा आवेदन प्राप्त भएको मन्त्रालयले जनाएको छ। हाल ३४ देशमा नेपाली राजदूतावास रहेका छन्। तीमध्ये १७ देशमा राजनीतिक नियुक्तिमार्फत र बाँकी १७ देशमा परराष्ट्र मन्त्रालयका कर्मचारी पठाउने गरिएको छ। त्यसमा १७ देशका राजदूत पदहरू खाली छन्।

सरकारले १३ देशको नाम तोकेर यस्तो आवेदन आह्वान गरेको थियो भने इच्छुक अन्य देशका लागि पनि नाम उल्लेख गरी आवेदन दिन सकिने व्यवस्था गरेको छ। पूर्व सुशीला कार्की नेतृत्वको सरकारले राजनीतिक नियुक्ति पाएका १० देशका राजदूतहरू फिर्ता बोलाएको थियो। त्यसपछि बालेन्द्र शाह नेतृत्वको सरकारले ती राजनीतिक नियुक्ति पाएको व्यक्तिहरूलाई पदमुक्त गरेको थियो। राजदूत पद खाली भएपछि सरकारले पहिलो पटक खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको हो।

मन्त्रालय स्रोतका अनुसार प्राप्त आवेदनमध्ये केही दोहो¥िएको र केही व्यक्तिको सिफारिसले आवेदन संख्या बढी देखिएको भन्ने छ। सबै आवेदनहरूको रुजु र प्रमाणीकरणपछि वास्तविक संख्या सार्वजनिक गरिनेछ। आवेदनहरूको यकिन विवरण तयार भएपछि मन्त्रालय आवश्यक स्क्रिनिङ प्रक्रिया पुरा गरी योग्य उम्मेदवारहरूको सूची मन्त्रिपरिषद्मा पठाउनेछ। मन्त्रिपरिषद्ले सिफारिस गरेका उम्मेदवारको संसदीय सुनुवाइपछि राष्ट्रपतिबाट राजदूत नियुक्ति हुनेछ। नियुक्तिपछि राजदूतहरूले परराष्ट्र मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गरी जिम्मेवारी सम्हाल्ने व्यवस्था छ।

मन्त्रालयले ‘राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५’ (संशोधनसहित) अनुसार आवेदन आह्वान गरेको हो। निर्देशिकाअनुसार राजदूत बन्न कम्तीमा ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने तथा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था छ। त्यससँगै भ्रष्टाचार वा नैतिक पतन देखिने फौजदारी अपराधमा सजाय नलिएको, विदेशी राष्ट्रको स्थायी वा अस्थायी आवासीय अनुमति (पीआर वा ग्रिनकार्ड) नलिएको हुनुपर्नेछ। साथै परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध वा कूटनीतिक क्षेत्रमा अनुभव भएको र अंग्रेजी भाषामा राम्रो दक्षता भएको हुनुपर्ने योग्यता तोकिएको छ।