असहज छिमेकीहरू: विश्वकप आयोजना गर्ने तीन देशहरूले एक महिनाका लागि आपसी विवादहरू रोकिन सक्छन्?

यसलाई एउटा यस्तो रात्रिभोज जस्तो सोच्नुहोस् जहाँ तपाईं पुगेपछि आयोजकहरू आफैं आपसी विवादमा उल्झिएका हुन्छन्। उत्तर अमेरिकामा संयुक्त रूपमा पहिलो पटक आयोजना हुँदै गरेको फुटबल विश्वकप हेर्न आउने समर्थकहरूले लामो समयदेखि तनावपूर्ण अवस्थामा रहेका तीन छिमेकी देशहरूको सामना गर्नुपर्नेछ। अमेरिका, क्यानडा र मेक्सिकोका १६ वटा शहरहरूमा यो प्रतियोगिता आयोजना हुँदैछ। डिसेम्बरमा तीन देशका नेताहरू वाशिंगटन डिसीमा भेला भएर फिफाका प्रमुख जियानी इन्फेन्टिनोसँग ‘सेल्फी लिँदै’ विवादलाई टाढा राख्न प्रयास गरेको देखियो। तर ३९ दिनसम्म चल्ने यो प्रतियोगिता सफल बनाउन सहकार्यको चुनौती फरक किसिमको हुनेछ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर अमेरिकामा आफ्नो देशको प्रभुत्व रहेको दाबी गर्दै आएका छन्। यसको अर्थ ट्रम्प पुनः सत्तामा फर्किएपछि व्यापार, आप्रवासन र लागुऔषध तस्करीजस्ता वास्तविक तनावका विषयहरू पुनः सतहमा आउन सक्छन्। अर्कोतर्फ सही ढंगले अघि बढाएमा तीन देशबीच निकट सम्बन्ध पनि विकास हुन सक्ने संभावना छ। व्यापार र पर्यटनमा तनाव छ, यद्यपि ट्रम्पले मेक्सिको र क्यानडालाई अमेरिकाका प्रमुख व्यापार साझेदारको रूपमा राखेका छन् र थप भन्सार शुल्क लगाउने पहिलो देशहरू यी दुई हुन्।
विश्वकप फुटबल इतिहासमा यस्ता तीन देशहरूमा संयुक्तरूपमा आयोजना कहिल्यै भएको थिएन। सन् २०२६ को विश्वकप भने पूर्ण रुपमा महादेशभरि सञ्चालन भइरहेकाे छ, जहाँ विभिन्न निकायहरू संलग्न छन्। समर्थकहरूले एउटा देशबाट अर्को देशमा यात्रा गर्दा अमेरिकी आप्रवासन निकायहरूले व्यवस्था मिलाउनु ठूलो चुनौती हुनेछ। अहिले नै यस विषयमा धेरै चिन्ता ब्यक्त गरिएको छ। इरानसँगको द्वन्द्वले अमेरिकी सुरक्षा चिन्ता बढाएको छ जसले नयाँ समस्या निम्त्याउन सक्छ र साधारण देखिने घटना पनि विवादास्पद बन्न सक्छ।
प्रत्येक देशका नेताहरू यस प्रतियोगितामार्फत् छिमेकीसँग सहकार्य देखाउन र घरेलु आलोचना रोकिन आफ्नो छवि सुदृढ बनाउने प्रयास गर्नेछन्। मेक्सिकोमा आयोजकत्व सम्बन्धी अनिश्चितता र निराशा देखिएको छ। राजधानीको मुख्य विमानस्थलको तयारी अवस्था, सार्वजनिक यातायातमा परेको चाप, र पुनर्निर्मित एस्टेका रंगशालासम्बन्धी प्रश्नहरू उठिरहेका छन्। अहिले यहाँको प्रमुख शिक्षक युनियनले पेन्सन र अन्य सेवा सुविधाका मागमा सरकारविरुद्ध देशव्यापी आन्दोलन गरिरहेको छ, जसले खेल आयोजना हुने मुख्य मार्गहरू अवरुद्ध गर्ने जोखिम छ।
तीनै देशको नजर विश्वकपभन्दा पर पनि पर्न सक्छ। विश्लेषकहरू भन्छन् कि यदि यो खेलको आयोजना राम्रोसँग व्यवस्थापन हुन सकेमा तीन छिमेकी देशले अन्य क्षेत्रमा पनि सकारात्मक परिणाम ल्याउन सक्नेछन्। ती तीनै देश अहिले यूएसएमसीएको पुनरावलोकनको चुनौतीपूर्ण चरणमा छन्, यो उत्तर अमेरिका खुल्ला व्यापार सम्झौता हो। यसको पुनरावलोकनले सन् १९९४ देखि कायम रहेको व्यापार साझेदारीलाई अनिश्चित बनाएको छ।

