
सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा स्थान बनाएका चार खेलाडी अहिले २०२६ को विश्वकप खेल्ने टिममा पनि छन्। ती चार खेलाडीले यस मानेमा भाग्यमानी बनेका छन् र उनीहरूको मेहनतले पनि यो स्थानमा पुर्याएको हो। फिफा विश्वकप २०२६ मा पहिलो पटक ४८ राष्ट्रका १,२४८ खेलाडी सहभागी हुँदै ३९ दिनमा कुल १०४ खेल सञ्चालन हुनेछन्। लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, लुका मोड्रिच र गुइलेर्मो ओचोआ सन् २००६ देखि २०२६ सम्मका लगातार छैटौँ विश्वकप टोलीमा समावेश खेलाडी हुन्। अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले यस पटकको विश्वकप खेलेमा छैटौँ पटक खेल्ने ऐतिहासिक कीर्तिमान बनाउनेछन्। २३ जेठ, काठमाडौं। यही जुन ११ देखि सुरु हुने फिफा विश्वकप २०२६ का लागि ४८ राष्ट्रका अन्तिम टोलीहरू घोषणा भइसकेका छन् र अब अमेरिका, मेक्सिको तथा क्यानडा विश्व फुटबलको महाकुम्भ आयोजना गर्न तयार छन्।
विश्वकप इतिहासमा सबैभन्दा बढी टोली सहभागी रहने यो प्रतियोगितामा कुल १०४ खेल हुनेछ र ३९ दिनसम्म उत्तर अमेरिकाका १६ वटा स्टेडियममा खेलहरू आयोजना गरिनेछन्। ४८ टोलीको अन्तिम सूचीमा प्रत्येक टोलीबाट २६–२६ खेलाडीहरू छन्, जस कुल १,२४८ खेलाडी यस पटक विश्वकपमा हिस्सा लिनेछन्। यी खेलाडीहरू मध्ये केहिले पहिले नै विश्वकप खेलेका छन् वा जितेको अनुभव छ भने अधिकांशले पहिलो पटक भाग लिन लागेका छन्। यसैमा २२ खेलाडीले पहिले नै विश्वकप जितिसकेका छन् भने ३००भन्दा बढी खेलाडीले कम्तीमा एक पटक विश्वकपमा भाग लिएका छन्। तर यस १,२४८ खेलाडीहरूको सूचीमा चार खेलाडी यस्तो छन् जो आफ्नो करियरको अन्तिम विश्वकप खेल्दैछन् र दुई दशकदेखि विश्वकपमा निरन्तर सहभागी हुँदै आएका छन्। साविक विजेता अर्जेन्टिनाका स्टार लियोनल मेस्सी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, क्रोएसियाका मिडफिल्डर लुका मोड्रिच र मेक्सिकन गोलकिपर गुइलेर्मो ओचोआ सन् २००६ देखि २०२६ सम्म टिममा निरन्तर रहेका छन्।






