
समाचार सारांश: श्रेयस अय्यर भारतको नयाँ टि–२० अन्तर्राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्त भएका छन्। नवनियुक्त कप्तान अय्यरले आयरल्यान्ड र इंग्ल्यान्डविरुद्धको सिरिजसँगै एसियन गेम्समा पनि भारतीय टोलीको नेतृत्व गर्नेछन्। खराब प्रदर्शनका कारण पूर्व कप्तान सूर्यकुमार यादव यी तीनै सिरिजका लागि टोलीमा चयन हुन सकेनन्। २३ जेठ, काठमाडौं। श्रेयस अय्यरलाई भारतको नयाँ टी–२०आई कप्तान बनाउने निर्णय शनिबार सम्पन्न छनोट समितिको बैठकले गरेको छ। अय्यरले आगामी आयरल्यान्ड र इंग्ल्यान्डसँगको सिरिज तथा एसियन गेम्समा भारतको कप्तानी गर्नेछन् भने सूर्यकुमार यादवलाई यी प्रतियोगिताका लागि टोलीमा समावेश गरिएको छैन।
अय्यरले पछिल्ला वर्षहरूमा कप्तान र ब्याट्सम्यान दुवै रूपमा उत्कृष्ट प्रदर्शन गरे। उनले २०२४ मा कोलकाता नाइट राइडर्सलाई आईपीएल उपाधि दिलाएका थिए र त्यसअघि दिल्ली क्यापिटल्स र पञ्जाब किङ्सलाई फाइनलसम्म पुर्याएका थिए।
सन् २०२५ को आईपीएलमा पञ्जाब किङ्सका कप्तान भएर उनले सो सिजन टोलीलाई फाइनलसम्म पुर्याएका थिए। यो सिजन सुरुवाती ७ खेलमा अपराजित रहेका उनका टोलीले प्लेअफमा स्थान बनाउन सकेनन्। व्यक्तिगत रूपमा उनले आईपीएल २०२५ मा ६०४ रन बनाएका थिए भने आईपीएल २०२६ मा ४९८ रन जोडेका थिए।
टि–२० विश्वकपको उपाधि जितेका सूर्यकुमार यादवले हालसालै राम्रो प्रदर्शन गर्न सकेका छैनन्। विश्वकपमा उनले ९ इनिङ्समा २४२ रन बनाए भने आईपीएल २०२६ मा १३ खेलमा मात्र २७० रन जोडेका थिए।






