Skip to main content

नाच, नेपाल, नाच!

समाचार सारांश देशका पूर्वशासक र आफूलाई मुख्य शक्ति ठान्ने राजनीतिक नेताहरू अहिले न्यायिक प्रक्रियाको सामना गरी आफ्नो अस्तित्व जोगाउन संघर्ष गरिरहेका छन्। परिवर्तन र नयाँ आशाका साथ उदाएका नयाँ नेतृत्वले आशा जगाए पनि यसले निम्त्याउन सक्ने थप जोखिमप्रति चिन्ता बढेको छ। बारम्बार परिवर्तन हुने सत्ता समीकरण र अस्थिर लोकतन्त्रका बीचमा सामान्य नागरिकहरू आफ्ना कर्ममा व्यस्त रहेका छन्। नाच, नेपाल, नाच- अब त्यो मादलको पुरानो तालमा होइन, हावाले बढार्दै ल्याउने हल्लाहरूको तालमा। चोकभरि भाषणका जंगली झारहरू फ़ैलिएका छन्, जहाँ कहिले देशको गौरव मानिने ‘सुनौला सिंहासन’ इतिहासको धूलोमा लडिरहेको छ। आजको काठमाडौं जुवाको अन्तिम दाउ जितेको उन्मत्त खेलाडी जस्तो छ- आँखामा रहस्यमय चमक, ओठमा काँपिरहेको मुस्कान। हिजो साइरनको हुरीभित्र निदाउने अनुहारहरू आज आफ्नै ओछ्यानको छाया देखेर झस्किन्छन्। भट्टीका चिया-कपहरूमा देशको मधुरो भाग्य उम्लिरहेको छ। कतै हजामको काँइयो भोलिको नक्सा कोरिरहेको छ, कतै पाङ्ग्राले डामेका सडकहरूमा क्रान्तिका फिरन्ते ज्योतिषहरू नयाँ ग्रहहरूको भविष्यवाणी गरिरहेका छन्। चियाको बाफभित्र अनुहार लुकाएर कानेखुसी गर्दै कोही भन्छन्- ‘देशलाई परिवर्तनको ऐतिहासिक संघारमा पुर्‍याएका छौं।’ अर्काेले थाम्न खोज्दा-खोज्दै फुस्किएको खित्का छोड्दै भन्छ- ‘यहाँ वकवासहरूको घरि-घरि भ्रूणहत्या हुन्छ।’ बिहानै ढोकामा बजारिन्छन् अखबारहरू- निद्रा भङ्ग गर्न आएका छापामार बुटझैँ। हिजो जो छाती पिटेर देशको ‘मियो’ भएको घोषणा गर्थे, आज ती व्यक्तिहरू अदालतका गल्लीहरूमा आफ्नै नामको अर्थ खोजिरहेका छन्। एउटा जीर्ण झ्यालको धमिलो बत्तीमुनि एउटा भूतपूर्व शासक एक्लै बसेको छ। उसले हाल बुझ्दैछ- सत्ता त वैशाखको घाममा ओइलाएर झर्ने फूलको माला पो रहेछ। रङ्गीन फोनहरू मौन छन्, दलबलका साइरनहरू थकित छन्, र अङ्गरक्षकहरू पनि आफ्नै छायाबाट तर्सन थालेका छन्। सडकहरूले ताली बजाइरहेका छन्, र एउटा मक्किएको पिपल ढलिरहेको छ- धूलोको बादल उठाउँदै, हाँगामा झुन्डिएर बसेका गुँडहरू तर्साउँदै, आकाशमा एउटा क्षणिक रिक्तता कोर्दै। तर जराहरूलाई राम्रोसँग थाहा छ- एउटा बूढो रुख ढल्दा कहिल्यै जङ्गलको कथा सकिन्न! मट्टितेलले भिजेको यो माटोमा नयाँ नायकहरू मसाल बोकेर दौडिरहेका छन्। उनीहरूको आँखामा यो शहर सफा गर्ने सपना छ, तर उनीहरू बिर्सन्छन्- सपनाले पनि कहिलेकाहीँ पुरै शहर जलाउँछ। आज न्याय र प्रतिशोध एउटै ऐनामा उभिएर एकअर्काको अनुहार नियालिरहेका छन्। टेलिभिजनका बहसहरूमा रिस र आक्रोशको व्यापार भइरहेको छ, र मानिसहरूले जाडोमा कोट फेरेझैं आफ्नो आस्थाको रङ्ग फेरिरहेका छन्। आज सिकार हुनेहरू हिजो नै शिकारी थिए। के भर, भोलि फेरि जङ्गलको नियम फेरिन सक्छ। एउटा अनन्त स्क्रोलमा बगिरहेको छ देश- हतकडी, भाषण, षड्यन्त्र, र उत्सव। लोकतन्त्र आजभोलि मोबाइलको स्क्रिनझैं घरि-घरि ‘स्लिप मोड’मा जान्छ। जसलाई जीवित राख्न हरेक क्षण कसैले न कसैले ‘रिफ्रेस’ गरिरहनुपर्छ। दूरदराजको पहाडको एकान्त आँगनमा एउटा बुढो किसान रेडियोको मधुरो आवाज सुन्दै अँध्यारोमा हँसिया धार लगाइरहेका छन्। उसले मुकुटहरूको उदय र पतन देखेको छ, रगतका नदीहरू बगेको देखेको छ, सपनाका जङ्गलहरू डढेर खरानी भएको देखेको छ। त्यसैले ऊ मुस्कुराउँछ- शान्त, गम्भीर, र निरपेक्ष। किनभने उसलाई थाहा छ- यो देश कहिल्यै सीधा रेखामा हिँड्दैन। यो त कहिले आँधीको छातीमा, कहिले आगोको जिब्रोमा, कहिले आफ्नै खरानीमाथि उभिएर, फेरि उठ्छ, र नाच्छ। नाच, नेपाल, नाच! नाच, नेपाल, नाच!