Skip to main content

क्रिकेट संघ रुपन्देहीको अध्यक्षमा शक्ति गौचनको उम्मेदवारी

क्रिकेट संघ रुपन्देहीको पाँचौं अधिवेशनमा पूर्व क्रिकेटर शक्ति गौचनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। हालका अध्यक्ष हरिबहादुर थापाले सहमति तोड्दै पुनः उम्मेदवारी घोषणा गरेपछि गौचनले अध्यक्ष पदको दाबी प्रस्तुत गरेका छन्। निर्वाचित भएमा आगामी ४ वर्षभित्र रुपन्देहीका ६ वटै नगरमा क्रिकेट मैदान निर्माण गरी जिल्लालाई खेलको केन्द्र बनाउने प्रतिबद्धता गौचनको छ।

२३ जेठ, बुटवल। क्रिकेट संघ रुपन्देहीको पाँचौं अधिवेशनबाट चयन हुने नेतृत्वका लागि पूर्व क्रिकेटर शक्ति गौचनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। शनिबार भैरहवामा आफ्नो मातृ क्लब लुम्बिनी खुकुरी क्लबको आयोजनामा पत्रकार सम्मेलन गरी गौचनले अध्यक्ष पदमा उम्मेदवारी दिने जानकारी गराएका छन्। यही जेठ २५ गते भैरहवामा संघको अधिवेशन हुँदैछ।

हालका अध्यक्ष हरिबहादुर थापाले चौथो अधिवेशनमै पाचौं अधिवेशनमा गौचनलाई अध्यक्ष बनाउने सहमति गरे पनि अहिले तोडेर पुनः उम्मेदवारी घोषणा गरेपछि गौचनले औपचारिकरूपमा उम्मेदवारी दिने घोषणा गर्नुपरेको जानकारी दिए। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व स्पिनर गौचनले क्रिकेटको उर्वर भूमि रुपन्देहीमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना र ग्रासरुटबाटै क्रिकेट खेललाई अगाडि बढाई जिल्लाको क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित संघको नेतृत्वमा आउन चाहेको बताएका छन्।

गौचनले जुनियर स्तरमा क्रिकेटका लागि पूर्वाधार सुधारमा धेरै काम गर्नुपर्ने भएकाले आफू त्यसमा लाग्ने बताए। उनले निर्वाचित भए आगामी ४ वर्षभित्र जिल्लाका ६ वटै नगरमा क्रिकेट मैदान निर्माण गरी रुपन्देहीलाई क्रिकेटको हबको रूपमा विकास गर्ने प्रतिबद्धता जनाए। जिल्लाका क्रिकेट क्लबमध्ये आधाभन्दा धेरै आफ्नो समर्थनमा रहेको र ७५ प्रतिशत खेलाडीको साथ पाएकाले यसपटक आफू विजयी हुने गौचनले दाबी गरे। सन् २००१ मा बंगलादेशमा भएको प्रतियोगितामा यू–१७ टोलीबाट क्रिकेट सुरु गरेका शक्तिले २०१८ मा व्यावसायिक रूपमा क्रिकेटबाट सन्न्यास लिएका थिए।

नेपालले एकदिवसीय क्रिकेटमा पाइला टेकेकै दिन खेलाडीको रूपमा बिदा लिएका सन्न्यासपछि भैरहवामा आफ्नो स्टार क्रिकेट एकेडेमीमा प्रशिक्षण सञ्चालन गर्दै आएका छन् भने तिलोत्तमा एक्स्ट्राटेक ओभल, न्यू होराइजन क्रिकेट क्लब लगायतमा प्रशिक्षक पनि रहेका छन्। उनले यू–१९ एसिया कपमा नेपाली टोलीका प्रशिक्षकको जिम्मेवारी निर्वाह गरिसकेका छन्। पत्रकार सम्मेलनमा शक्ति गौचनको प्यानलका उपाध्यक्षका उम्मेदवार संजिवराज जोशीले पिछिल्लो अधिवेशनमै गौचनलाई नेतृत्व दिने सहमति भएको हुँदा यसलाई पालना गर्न आग्रह गरे। क्रिकेटमा २५ वर्षको योगदान र नेपालको अन्तर्राष्ट्रिय ख्याति बढाउन गरेको प्रयासका कारण गौचनको सम्मानमा यसपटक नेतृत्व दिने विचार रहेको उनको भनाइ थियो। गौचन नेतृत्वमा आएपछि रुपन्देहीलाई भारतको उत्तर प्रदेशका क्रिकेट क्लबहरूसँग जोडेर खेल पर्यटनमा नयाँ आयाम थप्ने योजना रहेको बताएका छन्। अध्यक्षका अर्का उम्मेदवार हरिबहादुर थापाले शुक्रबार पुनः नेतृत्वमा उम्मेदवारी घोषणा गरेका छन्।